महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन् ।
सोमबार बर्दिबास १४ स्थित नमुना मुसहर बस्तीमा १ सय ८ जनाको लघुजीवन बीमा गराएपछि बर्दिबास नगरपालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले सो प्रोत्साहन रकम घोषणा गरेका हुन् ।
यो कार्यक्रम नगरक्षेत्रका सबै मुसहर समुदायमा लागू हुनेछ । नगर क्षेत्र भित्रका स्थायीबासी मुसहर पुरुष महिला दुवैलाई यो रकम उपलब्ध गराइने नगरपालिका प्रमुख क्षेत्रीको भनाइ छ ।
सानै उमेरमा विवाह गरी बच्चा जन्माउँदा मुसहर महिलाको स्वास्थ्यमा समस्या बढ्दै गएको क्षेत्रीले बताए । २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था भएपनि मुसहर बस्तीमा बालविवाह भने यथावत् नै छ ।
अठारदेखि ६९ वर्ष उमेर समूहका मुसहरहरुको तीन वर्षे लघुजीवन बीमाबापत रकम बर्दिबास नगरपालिकाले एकमुष्ठ रु एक लाख १९ हजार तीन सय ४५ जम्मा गरेको हो । बीमा ‘लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स’ लिमिटेड बर्दिबास शाखामा गरिएको छ ।
नगरप्रमूख क्षेत्रीसहित बीमा कम्पनीका अधिकृत बस्तीमै पुगेर लघुजीवन बीमा गराइएको हो । गरिबी, अशिक्षा र सबैखाले अवसरबाट वञ्चित मुसहरलाई भइपरी आउने दुर्घटनामा राहत होस् भन्ने उद्देश्यले लघुजीवन बीमा गराइएको जनाइएको छ ।




