रौतहट । रौतहट जिल्लामा संचालित ८३ वटा सहकारी संस्था सम्पर्कविहिन भएको तथ्य सार्वजनिक भएको छ । सहकारी संस्थाले आफ्नो नियमनकारी निकायमा वार्षिक साधरण सभा प्रतिवेदन तथा मासिक वितिय प्रतिवेदन बुझाउनु पर्दछ । तर, सहकारी संस्थाको कार्यालय बन्द र लेखा परिक्षण समेत नगरेको पाइएको छ ।
चन्द्रपुर नगरभित्र रहेको जनहित बहुउदेश्य सहकारी संस्था, डाँफे बचत तथा ऋण सहकारी संस्था, गणपति बचत तथा ऋण सहकारी संस्था, मेरो बचत तथा ऋण सहकारी संस्था र हतैषी बचत तथा ऋण सहकारी संस्थालाई सम्पर्कमा आउन चन्द्रपुर नगरपालिकाले आग्रह गरेको छ ।
सहकारी संस्थालाई कर चुक्ता प्रमाणपत्रसहित सम्पर्कमा आउन नगरपालिकाले जारी गरेको पत्रमा भनिएको छ । सम्पर्कमा नआएमा सहकारी ऐन २०७४ को परिच्छेद १८ र १९ दफा १२२ (घ) (च) (ज) (ढ) (त) तथा चन्द्रपुर नगरपालिका सहकारी ऐन २०७९ को परिच्छेद १८ दफा ८० (ख) (घ) (द) तथा परिच्छेद १८ दफा ८३ को कसुर मानि सोहि अनुसार कारवाहि प्रक्रिया अघि बढ्ने उल्लेख गरेको छ ।
यस्तै मधेस प्रदेशका पर्सा, बारासहित ४ जिल्लाका ४ सय ७२ वटा सहकारी संस्थाहरु सम्पर्कविहीन भएको मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । जसका कारण यहाँ सर्वसाधारणहरु जिल्ला प्रशासन, जिल्ला प्रहरीमा आफ्नो रकम फिर्ताको लागि उजुरी लिएर पुग्ने गरेका छन् ।




