काठमाडौं । चाबहिलमा एक पुरुषले आफूसहित श्रीमती र ३ छोरीलाई पेट्रोल खन्याएर आगो लगाएका छन् । चाबहिलको सरस्वतीनगरमा उनले आफूसहित श्रीमती र ३ छोरीलाई पेट्रोल खन्याएर आगो लगाएका हुन् ।
५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती ४४ वर्षकी विनु सिंह, छोरीहरू २५ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानीमाथि पेट्रोल छर्केर आगो लगाएपछि आफैंमाथि आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । जसमध्ये बाबु, आमा र कान्छी छोरीको अवस्था सामान्य रहेको र शरीरको ८ देखि १० प्रतिशत भाग जलेको छ ।
तर १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको बर्न अस्पतालले जनाएको छ । चञ्चलबहादुरले मादक पदार्थ सेवन गरी मंगलबार राति झगडा गरेको खुलेको प्रहरीले जनाएको छ । मदिराको तालमा उनले घटना गराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
उनले यसअघि पनि रक्सी खाएर श्रीमतीसँग झगडा गर्ने र पटक पटक मार्ने धम्की दिएको खुलेको छ । तीन दिनअघि मात्रै श्रीमतीले आफूमाथि श्रीमानले हिंसा गरेको उजुरी दिएको खुलेको छ । श्रीमतीको उजुरीपछि प्रहरीले चञ्चललाई सम्झाएर फर्काएको जनाएको छ ।




