बारा । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १ पथलैयास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३२ किलो आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्र ०३-००२ प ५८५४ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा चालक मोटरसाइकल छाडी फरार भएपश्चात मोटरसाइकलमा ल्याएको उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
यसैगरी बारा सिम्रौनगढ नगरपालिका १ हनुमानचोकबाट अवैध लागूऔषध गाँजा १० किलो शनिबार बेलुकी प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी श्रीनगर र इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको संयुक्त टोलीले उक्त परिणामको गाँजा बरामद गरेको हो ।
प्रहरीलाई देख्ना साथ नयका टोलबाट भारततर्फ जाँदै गरेको बिआर ०५ सी ७०५४ नम्बरको मोटरसाइकल चालक मोटरसाइकल छाडी फरार भएपश्चात प्रहरीले खोज तलास गर्दा मोटरसाइकलमा गाँजा बरामद गरेको हो ।
प्रहरीले हाल फरार दुवै मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।






