रौतहट । रौतहटको कटहरिया बजार क्षेत्रको फोहोर उठाउन विरोध स्वरुप स्थानिय युवाहरुले कटहरिया नगरपालिका भवनको मूल गेटमा फोहोर थुपारेर विरोध जनाएका छन् । कटहरिया बजार क्षेत्रको फोहर नउठेको भन्दै आक्रोसित युवाहरुको समुहले शुक्रबार दिउँसो नगरपालिकाको मूल गेटमा एक ट्याक्टर फोहर फालेर विरोध जनाएका हुन् ।
नगर प्रमुख अजय प्रकाश जयसवालले नगरको सरसफाईमा ध्यान नदिएको भन्दै स्थानीय युवाहरुले गुनासो गर्दै आएका थिए । फोहोर फाले लगत्तै मेयर जैसवालको आग्रहमा युवा समुह, स्थानिय ब्यापारी, सुरक्षाकर्मी, सञ्चारकर्मी जनप्रतिनिधिहरु लगायत सर्वपक्षिय आकस्मिक बैठक बसेका थिए ।
बैठकमा मेयर जैसवालले प्राविधिक कारण बस पछिल्लो तीन दिनदेखि बजार क्षेत्रको फोहर उठ्न नसकेकोमा गल्ती स्वीकार गरेका थिए । बैठकमा मेयर जैसवाल र स्थानीय बिच दुई बुन्दे मौखिक सहमती भएको छ ।
बजार क्षेत्रको फोहोर दैनिक उठाउने र बजार क्षेत्रको बाटोमा बिहान बेलुकी पानी पटाउने सहमती भएको थियो । सहमती लगत्तै अपरान्ह मूल गेटमा थुपारिएको फोहर व्यवस्थापन गरिएको थियो । मेयर जैसवालले आउँदा दिनमा त्यस्तो कमी कमजोरी नहुने प्रतिवद्धता जनाएका थिए ।




