सिरहा । सिरहामा मामाको छोराले चिरपट प्रहार गर्दा फूपुको छोराको मृत्यु भएको छ । गोलबजार नगरपालिका १० धर्मपुरका २८ वर्षिय फेकु भन्ने संजय सदाले आफ्नै फूपुको छोरा ४० वर्षिय गेनी सदायमाथि सामान्य विवादमा चिरपट प्रहार गर्दा मृत्यु भएको हो ।
गएराति करिव १० बजे खाना खाने समयमा खानाकै विषयमा विवाद सुरु भएको थियो । विवादकै क्रममा संजयको चिर्पट प्रहारबाट गम्भिर घाइते दाई गेनीको उपचारको क्रममा बुधबार विहान मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर शुनिल कार्कीले जानकारी दिए ।
समान्य विवादबाट सुरु भएको झगडा मदिरा पीएर मातेकाका कारण चिर्पट हानाहानमा पुगेको थियो । घटनामा संलग्न संजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना राति नै भएपनि प्रहरीले विहान पाँच बजेमात्र जानकारी पाएको थियो ।
जानकारी पाउनसाथ पुगेको प्रहरी अचेत अवस्थामा रहेका गेनीलाई उपचारको लागी गोलबजारस्थित अस्पतालमा ल्याइएपनि उपचारकै क्रममा मृत्यु भएको जनाएको छ । घटना स्थलको मुचुल्लका उठाउने कार्य भइरहेको र शवलाई पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल लहान लगिएको प्रहरीले जनाएको छ ।




