वीरगंज । पोखरिया नगरपालिकाको आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक भएको छ । नगरप्रमुख प्रद्युम्न चौहानको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष लक्ष्मणसाह कानूले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उपप्रमुख रूबी ठाकुरले कार्यक्रम बहिष्कार गरेपछि वडाध्यक्ष कानूले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
उपप्रमुख ठाकुरले नगरप्रमुख चौहानले बजेट एकलौटी सञ्चालन गर्न लागेको आरोप लगाइन् । उनले आफूलाई नीति तथा कार्यक्रम तयारीको जिम्मा दिएको तर कर्मचारीहरूले कुनै पनि तथ्याङ्क उपलब्ध नगराएको र यसमा नगरप्रमुखले पनि चासो नदेखाएको आरोप लगाइन् । उनीसँगै उनका ससुरा एमाले पोखरिया नगर कमिटीका अध्यक्ष विन्ध्याञ्चल ठाकुरले पनि कार्यक्रम बहिष्कार गरेका थिए ।
नगरप्रमुख चौहान र उपप्रमुख ठाकुर एमालेबाट निर्वाचित हुन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वडाध्यक्ष कानूले शहरी पूर्वाधार निर्माण, नगरमा सडक सञ्जाल निर्माण, स्वास्थ्य र दक्ष जनशक्तिको निर्माण, सुरक्षित प्रसूति सेवा, कृषि र पशुपालनको क्षेत्रमा सुधार, सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि, सार्वजनिक जग्गाको संरक्षणलाई प्राथमिकतामा राखिएको बताए ।
यस्तै दीर्घकालीन फोहोर व्यवस्थापन र वातावरण संरक्षण, बजार अनुगमन र व्यवस्थापन, पार्किड्ढो व्यवस्था, महिला तथा दलित सशक्तीकरण, सुशासन पारदर्शिता, आधुनिक र प्रविधिमैत्री नगर विकास, नगर विकास समितिको कार्यलाई अगाडि बढाउने, धूलो बाटोलाई निरुत्साहित गर्दै ढलान तथा कालोपत्र सडकको अवधारणा अवलम्बन गरिने लगायतका योजनाहरूलाई प्राथमिकता दिने बताए ।
यसैगरी, स्वास्थ्य, शिक्षा र कृषिमा बढी जोड दिइएको उनले बताए । उनले खानेपानी, विद्युत् पोल, ढल र सडकको स्तरोन्नति गरिनुका साथै प्रमुख सडकहरूलाई कम्तीमा ३० फिट फराकिलो गरिने नीति तथा कार्यक्रममा रहेको जानकारी दिए । यस्तै नगरप्रमुख चौहानले आगामी वर्षको लागि ४७ करोड १२ लाख ९३ हजारको अनुमानित बजेट प्रस्तुत गरे ।
उनले काम गर्ने क्रममा जो कोहीबाट कमी कमजोरीहरू हुन्छ तर त्यसलाई नै खोतल्नु सभ्य नेताको काम नभएको पनि बताए । पोखरिया नगरपालिकामा कैयन विकास निर्माण कार्यहरू भएका र अहिले नगरभरिका सडक हिलो नहुने अवस्थामा सुधार भएको उनको दाबी छ । उनले पोखरियाको विकासमा केही नेताहरूले अवरोध सिर्जना गरिरहेको आरोप लगाए ।
सबै पालिका सदस्यको सहयोग रहे पोखरियाको विकास आशा गरेभन्दा बढी हुने उनी बताउँछन् । पोखरेश्वर महादेव मन्दिरको सभाहलमा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव, संविधानसभा सदस्य रामेश्वर रौनियार, नेता नेजामुद्दीन समानी, अमलेश्वर मिश्र, कौशलकुमार झा, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी लगायतले नगरसभा सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।




