सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रूपैयाँ प्रदान गर्ने भएको छ । नगरपालिकाले ११ औँ नगरसभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको जनाएको छ ।
बालविवाहविरुद्धको साझा अभियानलाई सफल बनाउन उक्त कार्यक्रम सहयोग हुने विश्वास व्यक्त गरिएको छ । दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई २० हजार रूपैयाँ नगद दिने तथा स्नातक पास गरी विवाह गर्ने महिलालाई पनि सहयोग गर्ने उनको भनाइ छ ।
नगर उपप्रमुख रेनुकुमारी साहले यस कार्यक्रमले विद्यालयस्तरमा बालविवाह बारे चेतना फैलाउन सहयोग हुने धारणा व्यक्त गरिन् । यस्तै नगरपालिकाले सिँचाइ र मलखादको अभाव झेल्दै आएका किसानले प्रयोग गर्ने कृषि मिटरको विद्युत् महसुल बेहोर्ने निर्णय गरेको छ ।
कृषि क्षेत्रको विकास गर्दै कृषिमा आत्मनिर्भर बनाउन कृषि मिटरको महसुल नगरपालिकाले नै तिरिदिने निर्णय गरेको नगर प्रमुख सिंहको भनाइ छ । कृषि विद्युतीकरणमा नगरपालिकाले ७० प्रतिशत काम पूरा गरिसकेको र बाँकी ३० प्रतिशत काम छिट्टै सम्पन्न गर्ने उनको भनाइ छ ।




