बारा । सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले सरकारी पत्र किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हात पारेको खुल्न आएको छ ।
नगरपालिकाको अधिकृत सातौं तहका कर्मचारी जैसवालले नगरपालिकाको नक्कली पत्र र नगरप्रमुख किशोरीप्रसाद कलवारको हस्ताक्षर समेत किर्ते गरी पेस गरेको कागजातको आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको खुल्न आएको हो ।
मन्त्रालयका कर्मचारीलाई समेत प्रभावमा पारेर उनले प्रमुख प्रशासकीयको जिम्मेवारी लिएका थिए । उनले सोमबार नगरपालिकामा हाजिर भएर पदभार ग्रहण गरेका थिए । नगर उपप्रमुख नजमु सेहर र कर्मचारीहरूले कार्यालयमा उनलाई स्वागत गरेका थिए ।
आर्थिक तथा प्रशासनिकसहितको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीका लागि नगरपालिकाले मिति २०८१ वैशाख २४ गतेको चलानी नम्बर १३८० बाट नगरपालिकाले काजसरुवा सहमति दिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको पत्रलाई जयसवालले प्रविधिको प्रयोग गरी सो पत्रमा किर्ते गरेको पाइएको हो ।
घटनाको जानकारी पाएलगत्तै जैसवाललाई दिएको जिम्मेवारी खोसेर सरकारी कागजको किर्ते गरेकोमा कानुनी कारबाहीका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र कोष तथा लेखा निरीक्षण कार्यालय, कलैया बारामासमेत पत्रचार गरी जानकारी गराएको नगर प्रमुख कलवारले बताए ।
सिम्रौनगढ नगरपालिकाको भनिएको पत्रको आधारमा जैसवाललाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा ४ अनुसार पालिकामा प्रमुख प्रशासकीय अधिकृत नखटिएसम्म काम गर्ने गरी निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुप्रसाद ज्ञवालीले बताए ।
यसअघि २०७८/७९ मा जैसवाल सिम्रौनगढ नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहँदा उनलाई माछापोखरी ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा केही समयअघि मात्रै सफाइ पाएका उनीविरुद्ध अख्तियारले अहिले पनि १० भन्दा बढी उजुरीमा अनुसन्धान गरिरहेको बताइन्छ । यसैबीच, जिल्ला प्रहरी कार्यालय बाराले समेत यस घटनाको अनुसन्धान सुरू गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक महेन्द्र खड्काले जिल्ला प्रहरी कार्यालयमा कर्मचारीले सरकारी किर्ते कागजात बनाएको भनेर निवेदन आएकाले अनुसन्धान सुरू गरेको बताए ।
लामो समयबाट आन्तरिक विवादका कारण प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा रहेको सिम्रौनगढमा यसअघि प्रमुख प्रशासकीय अधिकृतको हाजिरी गराउँदा भएको विवादमा गोलीसमेत चलेको थियो । सो घटनामा प्रहरीको गोली लागेर एक जना स्थानीयको मृत्यु भएको थियो ।




