सर्लाही । भारी वर्षापछि सर्लाहीस्थित लखन्देही खोलामा आएको बाढीले तटबन्ध भत्काउँदा कौडेना गाउँपालिका ७ शिवनगर तथा मलंगवा नगरपालिका ५ भाँड्सर गाउँमा बाढी पसेको छ । बाढी गाउँमा पस्दा दर्जनौं घरहरु डुवानमा परेका छन् ।
भारी वर्षाका कारण केही स्थानमा भने निकास बिनाको विकासले डुवानमा पारेको छ । शुक्रबार विहान चुरेस्थित पत्थरकोटमा भारी वर्षा भएको थियो । भारी वर्षापछि पत्थरकोट भएर बग्ने लखन्देही खोलामा पानीको सतह बढेर बाढी आएको हो ।
कौडेना गाउँपालिका ७ शिवनगर नजिक लखन्देही खोलाले बाँध भत्काएपछि बाढी गाउँ पसेको हो । बाढी गाउँ पस्दा शिवनगरमा मात्र ३५ भन्दा बढी घर डुवानमा परेको तथा सयौं घर जोखिममा रहेको वडाध्यक्ष विजय यादवले जानकारी दिए ।
उनले घरमा बाढी पसेकाहरुलाई उद्घारको प्रयास भइरहेको बताए । यता बाँध भत्किएर मलंगवा नगरपालिका ५ भाँड्सरमा पनि बाढी पसेको छ । त्यहाँ २५ घरमा बाढी पसेर डुवानमा परेको छ । भारी वर्षाका कारण पूर्वपश्चिम राजमार्गमा पर्ने लच्काहरुमा पानीको बेग बढेको थियो ।
पानीका कारण राजमार्ग समेत केही बेर अवरुद्ध बनेको थियो । राजमार्गमै पानी जम्दा यात्रुले निकै सास्ती खेप्नु परेको छ । यता बागमती १२ काजिराम टोलमा भने रेल्वे ट्रयाक बनेपछि पानी निकास नहुँदा डुवानमा परेको छ ।




