सप्तरी । हुन त हिजो पनि धेर थोर चोरीका घटना हुने गरेका थिए, सुनिन्थे तर अहिले झन् दिनानुदिन चोरीका घटना वृद्धि भई रहेका छन् । समाजबाट मानवता र इमान्दारीता हराउँदै गएको परिणाम हो यो । अहिले यस्तै चोरीका घटनाबाट आक्रान्त बनेको छ, सप्तरीको सप्तकोशी नगरपालिका ।
पछिल्लो समय सप्तकोशी नगरपालिकाका केही वडामा चोरीका घटना बढ्न थालेपछि स्थानीयवासी त्रसित बन्दै गएका छन् । रातिको समयमा मौका छोपेर आउने चोरले स्थानीय बासिन्दाका घरमा चोरी गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका हुन् ।
विगत केही समयदेखि वडामा चोरीका घटना हुँदा पनि चोरीमा संलग्नलाई पक्राउ गर्ने कार्यमा प्रहरी असफल भएपछि स्थानीय मिलेर रातीमा गस्ती समेत सुरु गरेका छन् । चोरीका घटना तीव्ररूपमा बढ्दै गएपछि आफ्नो टोल क्षेत्रमा अप्रिय दुर्घटना बचाउन युवाहरूको समूह मिलेर गस्ती सुरू गरेका हुन् ।
टोलमा कुनै पनि घटना नहोस् र शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले रात्री गस्ती गरिएको स्थानीय युवा बताउँछन् । विशेष गरी रातको समयमा अपरिचित व्यक्तिहरू अनावश्यक हिँडडुल गरेको पाइएकोले गस्ती गर्न थालिएको एक युवाले बताए ।
उनका अनुसार टोलमा राति १० बजे पश्चात हिँडडुल गर्न नपाइने साथै आवश्यक परेमा टोल विकास समितिलाई जानकारी गराउनु पर्नेछ । साथै, हिँडडुल गर्नेहरू शंकास्पद लागेमा त्यस्ता मान्छेलाई नियन्त्रणमा लिई सोधपुछ गर्ने गरिएको पनि उनले बताए ।
साथै स्थानिय एक युवाले गृहमन्त्री सामु आफूले भोग्दै आएको समस्या समेत जानकारी गराएका छन् । गृह मन्त्रालयले सुरु गरेको आफ्नो गुनासो गृहमन्त्रीलाई भन्ने अभियानमा सप्तरी नगरपालिका वडा नम्बर १ का स्थानीय युवा अस्विन राउतले आफ्नो गाउँको समस्या चाडै समस्या होस् भन्दै गुनासो राखेका छन् । उनले आफूहरु न राती सुत्न सकेको न त दिनमा घर छोडेर बाहिर जान सकेको भन्दै शिघ्र समस्याको समाधान होस् भन्दै गृहमन्त्रीलाई सम्बोधन गर्न आग्रह गरेका छन् ।
उनी लेख्छन्- ‘नमस्कार गृहमन्त्री ज्यु । म सप्तरी जिल्ला सप्तकोशी न पा १ फत्तेपुर निवासी अस्विन राउत लेख्दैछु । मधेश प्रदेशका विभिन्न स्थानमा गत हप्ता १० देखी लगातार चोरी डकैती लुटपाटका घटना बढी रहेको छ । हाम्रो नगरमा नि यस्ता घटना सुरु भै सकेको छ जसको कारण हामी आम सर्बसाधारण चयनले न राती सुत्न सकेका छौ न दिनमा घर छोडेर बाहिर जान सकेको छौ । रातको समयमा युवाहरु गस्ती त गर्दै छौ तर पनि डर कम भएको छैन । अनौपचारिक रुपमा १० बजे पछी हिडडुल गर्न नपाइने हिन्नु परे प्रशासन वा टोल बिकास समितीलाइ जानकारी गराउनु पर्ने भनिएको छ । के यतिले प्रयाप्त होला ? हामीलाइ सुरक्षा प्रत्याभुत गराइदिनु पर्यो मन्त्री ज्यु ?’





