सिरहा । सिरहामा लगदि गदियानी सडक निर्माण कार्यमा ठेक्केदारले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेको पाइएको छ । गोलवजार लगदी गदियानी सडक कालोपत्रे गर्ने निर्माण व्यवसायीले सवबेसमा कमअसल तथा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरी सडक निर्माण गरेको पाइएको हो ।
सडक कालोपत्रेमा सबैभन्दा पहिला सवबेसको काम गर्नुपर्छ । सवबेस बलिया भए सडक कालोपत्रे टिक्ने सम्भावना बढी हुने प्राविधिकहरु बताउँछन् । तर, यस सडक निर्माणमा ठेक्केदारले ठेक्का सम्झौतामा उल्लेख भएअनुसार रातो ग्राभेल हाल्नुपर्ने ठाउँमा स्थानीय “गागन खोलाबाट उत्खनन् गरी ल्याएको” अधिकमात्रामा बालुवा, गिट्टी नभएको र माटोको मात्रा दश प्रतिशत समेत नभएको गुणस्तरहीन सामाग्री सवबेसमा प्रयोग गरिएको स्थानियहरु बताउँछन् ।
आर्थिक वर्ष २०७६/०७७ मा १५ किलोमिटर सडक कालोपत्रे गर्न करिव ५१ करोडमा कोनटेक प्रा.लि. नक्सालले ठेक्का लिएर पेटीमा शम्भु कन्सट्रक्सनलाई दिइएको छ । गोलवजार लगदि गदियानी सडक निर्माणका लागी पेटी ठेक्का पाएका शम्भू कन्सट्रक्सनले सडकको सवबेसमा स्थानीय गागन नदीको अत्याधिक बालुवाको मात्रा भएको ग्राभेल प्रयोग गरिएको गोलवजार १२ का स्थानिय माधव यादवले जनाएको छ ।
उनले भने, ‘सव बेसमा खोलाको गुणस्तरहीन ग्राभेल प्रयोग गरेको कारण छिटफुट वर्षा मात्र हुँदा पनि सो सडक हिलाम्मे हुन्छ । ठाउँ ठाउँमा सडक भासिएको छ । वर्षा नहुँदा सडक पुरै धूलाम्मे भैहाल्छ ।’
अर्नामा गाउँपालिका ५ का कारी यादव भन्छन्, “माटो, बालुवा र गिट्टीको मात्रा भएको ग्राभेल सवबेसमा हालेर रोलिङ्ग गरिएको सडक यस्तो हिलाम्मे कसरी हुन्छरु यस्तो सवबेसमाथि कसरी एग्रिगेट बेस हाल्ने हो रु यो जनताको आखाँमा ठेक्केदारले छारो हाल्ने काम गरेको छ ।
उनले भने, ‘निर्माण व्यवसायी सम्भू कन्सट्रक्सनले गागन नदीको बालुवा हाल्न खोज्दा सुरुमै स्थानियले विरोध गरेपछि हुलाकी सडक आयोजना कार्यालय जनकपुरका इन्जिनियर कौशल यादवले खोलाको ग्राभेल सवबेसमा प्रयोग गर्न रोकेका थिए । यो नदीजन्य पदार्थ सवबेसमा हाल्न पाइदैन भन्दै त्यो सामाग्री अस्वीकृत गरिएको थियो । त्यसपछि सम्भू कन्सट्रक्सनले उक्त नदीजन्य कमअसल तथा अस्वीकृत सामाग्री नजिकै स्टोर गरेर राख्यो । तिन महिनापछि त्यही ग्राभेल प्रयोग गरे ।’
हुलाकी सडक आयोजनाका प्रविधिकले तिन महिना अघि अस्विकृत गरिएको गुणस्तरहीन ग्राभेल सवबेसमा प्रयोग भएपनि नियमनकारी निकाय मौन बस्नुले ठेकेदार र नियामक निकाय बीच अनुचित लेनदेन भएको गन्ध दिन्छ ।
गोलबजारका क्रसर व्यवसायहरु भन्छन्,–“सव–बेसमा” धनगढीमाई नगरपालिकामा रहेको ग्राभेल खानीबाट झिकिएको रातो ग्राभेल हाल्नु पर्ने हो । सडक निर्माण सम्झौतामा सोही कुरा उल्लेख छ । तर, सम्भू कन्सट्रक्सनले हुलाकी सडक आयोजनाका इन्जिनियरहरुलाई आर्थिक प्रलोभनमा पारेर जनताको आँखामा छारो हाल्ने र गुणस्तरहीन सडक निर्माण गर्ने प्रपञ्च गरेको छ ।’
सववेस र बेसको फिल्ड डेन्सिटी परीक्षण गरिनुपर्छ । माटोको भार वहन क्षमता परीक्षण गरेपछि मात्र सवबेस र बेस हाल्नुपर्ने स्थानिय तहमा कार्यरत प्राविधिकहरु बताउँछन् । बेस एग्रिगेटको पनि साइज हुन्छ । निश्चित मात्रामा डस्ट मिसाइन्छ । माटो र बालुवा सववेस र बेसमा हाल्नै हुँदैन । कालोपत्रे सडकको टिकाउपन सवबेस र बेस नै हो । सवबेस हालेर रोलिङ्ग गरेपछि सामान्यतया सडक नभासिँनुपर्ने प्रविधिकहरुको भनाई छ ।’
सुरुमा गागन नदीको सामाग्रीमा बालुवा र माटो मात्र देखिएकोले सवबेसमा त्यो ग्राभेल नहाल्न भनिएको हुलाकी सडक आयोजना कार्यालय जनकपुरका इन्जिनियर कौशल यादवले जनाएको छ ।
उनले भने, ‘बालुवाको मात्रा बढी भएकोले अस्वीकृत गरिएको थियो । पछि गिट्टीको मात्रा मिसाएको सामाग्री सववेसमा ओछ्याईएको इन्जिनियर यादवले बताए । उनले भने, ‘सवबेसको सामाग्री ल्यावमा परीक्षणको लागि पठाइएको छु । रिपोर्ट आएपछि स्पष्ट हुन्छ ।’
गोलबजार लगदी गदियानी सडक ठेक्का कोनटेक प्रा.लि. नक्सालको नाममा बोलपत्र स्वीकृत भएको छ । १५ कलिोमिटर लम्बाइ रहेको यो सडक २०७७ मै ठेक्का लागेको थियो । दुई वर्षमा सम्पन्न गर्ने शर्तमा ठेक्का पाएका निमार्ण कम्पनिले हाल सम्म ३५–४० प्रतिशत निर्माण कार्य मात्र सकाएका छन् ।
समयमा काम सम्पन्न नभएकोले एक पटकका लागी एक वर्षको लगी पुनः म्याद थपिएको लगदि गदियानी सडकका साइड इनिजिनियर अकिंत साहले जनाएको छ । थप म्याद अनुसार २०८१/११/२३ सम्ममा काम पूरा गर्नुपर्ने तोकिएको साहले बताए ।’
५१ करोड ४१ लख ०२ दुई हजार ३ सय ९६ रुपैयाँ ०४ पैसामा ठेक्का कवुल गरेको कम्पनीले ३३ प्रतिशत सडक निर्माणको काम भएको आधरमा १६ करोड ८७ लाख ८४ हजार २६ रुपैयाँ भुक्तानी लिइसकेको छ । तर हालसम्म भौतिक प्रगति ३५ प्रतिशत मात्र भएको छ ।
हुलाकी सडक आयोजना कार्यालय जनकपुरका अनुसार यो सडकको राइट अफ वे राजपत्रमा प्रकाशित नहुनु, सडक सीमा विवाद हुनु, विद्युतीय संरचना नहटाउनु र साइट क्लियर नहुनु, अदालतबाट विभिन्न मुद्दामा निषेधाज्ञा जारी हुनु, निर्माण सामग्रीको अभाव हुनु र बजेटको अभाव भएर निर्माण कार्य ढिलाई भएको हो ।
समयमै सडक निर्माण हुन नसँक्दा लगदी गदियानीदेखि उत्तर गोलबजार सम्मका २४ गाउँ टोलका बासिन्दाहरु मर्का परेका छन् । गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेकोले वर्षाको समयमा सडक हिल्लामे हुने भएका कारण यस क्षेत्रको बासिन्दाहरुलाई बजार आउजाउ गर्न समेत कठिनाई भइरहेको स्थानियहरु बताउँँछन् ।




