रौतहट । वर्षातको पानीले विद्यालयको चौर डुबान हुँदा विद्यार्थीले सास्ती भोग्नु परेको छ । दुर्गा भगवती गाउँपालिका १ स्थित जनता प्राथमिक विद्यालयको चौर डुवान हुँदा विद्यार्थी समस्यामा परेका हुन् ।
पानी एकदेखि दुई फिटसम्म जमेको र कक्षा कोठामा समेत पानी छिरेपछि अध्ययन एवम् अध्यापन प्रभाावित भएको विद्यालयका प्रधानाध्यापक मुकेश चौधरीले बताए ।
चौरको चारैतिर अग्लो रहेको र विद्यालय भवन होचो जमिनमा रहेकाले पानी जम्ने गरेको उनले बताए । कक्षा १ देखि ५ सम्म पढाइ हुने उक्त विद्यालयमा करिव ३५० जना विद्यार्थी रहेका छन् ।
विद्यालय वरिपरि पानी जमेपछि सर्पको जेखिम भएको र विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूलाई विद्यालय आउजाउमा समस्या भएपछि केही दिनका लागि बिदा दिएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालय हाताबाट पानीको निकास नभएसम्म विद्यालयमा अध्ययन अध्यापन गराउन चाहेर पनि नसकेको प्रअ चैधरीको भनाइ छ ।




