रौतहट । रौतहटको गौरमा ट्यूसन पढ्ने विद्यार्थी समूहबीच छुरा हानाहान हुँदा तीन जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।
गौर ४ टिकुलियाका सुरज यादवको घाँटी नजिक कुममा गहिरो घाउ लागेकाले थप उपचारका लागी वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक दिलिप घिमिरेका अनुसार घटनामा घाइते तीन जनाको उपचार भइरहेको छ । गौर नगरपालिका नजिकै संचालनमा रहेको ट्यूसन तथा कोचिङ सेन्टरका विद्यार्थीहरु बिच झडप भएको खबर पाउने बितिकै प्रहरी टोली पुगेको उनले जानकारी दिए ।
प्रहरी टोलीले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न इशनाथ नगरपालिका ९ का २० वर्षीय संजिव गुप्ता, २१ वर्षीय प्रदिप साह र परोहा नगरपालिका ९ का १८ वर्षीय शिवम कुमार सहनीलाई पक्राउ गरेको छ ।
चार जनालाई पक्राउ गरेपनि एक जनाको संलग्नता नदेखिएपछि तीन जना उपर ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




