एजेन्सी । गत २४ घण्टामा भारतमा ३७ हजार ५६६ थप व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कुल संख्या तीन करोड ३ लाख १६ हजार ८९७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा गत २४ घण्टामा भएको कोरोना संक्रमितको संख्या १०२ दिनयताकै सबैभन्दा कम हो । चालीस हजारभन्दा कम व्यक्ति कोरोना संक्रमण भएको १०२ पछि यो पहिलो पटक हो । भारतमा हिजो कोरोना संक्रमणबाट ९०७ व्यक्तिको मृत्यु भएको छ ।
करिब ७० दिनपछि भारतमा गत दुई दिन यतादेखि एक हजारभन्दा कम व्यक्तिले कोरोनाबाट ज्यान गुमाएका छन् । गत अप्रिल १४ मा भारतका कोरोना संक्रमणबाट एक हजारभन्दा बढीको मृत्यु भएको थियो । कोरोना प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९७ हजार ६३७ पुगेको छ ।
हाल भारतमा पाँच लाख ५२ हजार ६५९ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा कोरोना सुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख ६६ हजार ६०१ व्यक्ति कोरोनामुक्त भएका छन् । यहाँ कोरोना भाइरस मुक्ति दर ९६.८७ प्रतिशत रहेको छ ।






