रौतहट । रौतहटस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा प्रतिबन्धित भारतीय कुखुराको चल्ला बरामद गरेको छ । सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर रौतहटबाट गएको टोलीले परोहा नगरपालिका ८ कबिर चोकबाट भारतीय कुखुराको चल्ला बरामद गरेको हो ।
भारतका केही व्यापारीले ल्याएको एक लाख ७० हजार मूल्य बराबरको १ हजार ७०० थान कुखुराको चल्ला बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद चल्लालाई जिल्ला कुखुरा व्यवसायी किसान संघको रोहवरमा खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए ।
सशस्त्र प्रहरीको टोली देखेपछि व्यापारी फरार भएपनि उनीहरूले प्रयोग गरेको बिआर ०५ एम ५११७ नम्बरको प्लाटिना मोटरसाइकल लगायत साइकलहरू बरामद गरिएको एसपी हुमागाईंले जानकारी दिए । बरामद सवारी साधन आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।




