बारा । कलैयाको एउटा सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । कलैया उपमहानगरपालिका १८ स्थित नेरामावि मोतीसरमा वडा कार्यालयबाट निजी स्रोत कोटामा नियुक्त प्रावि तहका शिक्षक राजेश रविले तालाबन्दी गरेका हुन् ।
निजी स्रोतबाट एक वर्षदेखि काम गर्दै आएतापानि नगरपालिकाले विद्यालयको खातामा १२ महिनाको पारिश्रमिक नबुझाएकोले आक्रोशित बन्दै उनले विद्यालयको मुलगेटमा तालाबन्दी गरेका थिए ।
तालाबन्दी भएपछि विद्यार्थीहरुको पठन पाठन प्रभावित भएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र वडाध्यक्ष, प्रधानाध्यापकको सक्रियतामा छलफल भएको थियो । छलफलमा चाँडै पैसा पठाउन पहल गर्ने निर्णय भएपश्चात ताला खोलिएको थियो ।
त्यसपछि विद्यालयका प्रअ कलैया नगरपालिकामा समस्या राख्दा नपाले वार्षिक अनुदानको तीन लाख पारिश्रमिक बापतको रकम विद्यालयको खातामा पठाएको प्रअ रविचन्द्रप्रसाद साहले बताए ।
यसअघिका प्रअ किशोरी रामको पालामा उक्त शिक्षक नियुक्त भएका थिए । तर, विद्यालय प्रशासनले रकमको लागि प्रभावकारी किसिमले नपा र वडा कार्यालयसँग पहल नगरेको कारण १२ महिनाको तलबमा ढिलाइ भएको शिक्षकले बताएका छन् ।
सात जना शिक्षक, कास र लेखापाल गरी नौं जना शिक्षक कर्मचारी रहेको सो विद्यालयमा करिब साढे चार सयको हाराहारीमा छात्र छात्राहरु अध्ययनरत छन् । यस्तै विद्यालयमा एउटा निमावि, अङ्ग्रेजी राहत कोटामा शिक्षक नियुक्ति गर्ने तयारी छ ।




