रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा पिडितको न्यायमा सहज पहुँच सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार मानव अधिकार एलायन्सको स्थापना दिवसको अवसरमा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा एलायन्सका केन्द्रिय सदस्य दिलिप कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । चन्द्रपुर नगरपालिकाका कानुनी सल्लाहकार समेत रहेका प्रमुख अतिथी कोइरालाले न्यायको पहुँचमा रहेका अवरोधक तत्वहरू पहिचान गरि सोको न्यूनीकरणका लागि आवश्यक उपायहरू अवलम्बन गर्नुपर्ने बताए ।
उनले मानवको गाँस, बास र कपासको अधिकार सँगसँगै शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यमा सञ्चारकर्मीे तथा मानव अधिकारकर्मीले काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा छोरी संस्थाका संयोजक कोपिला तिमल्सिनाले न्याय पहुँचको लागि सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरी न्यायमा पहुँच अभिवृद्धिका लागि विपन्न, असहाय र असक्षम वर्गका व्यक्तिको पहिचान गर्न जरुरी रहेको बताए ।
नागरिकको न्यायमा पहुँच अभिवृद्धिको लागि चेतनाको अभिवृद्धि हुन आवश्यक रहेको उनको तर्क थियो । यस्तै कार्यक्रममा न्यायिक समितीका सदस्य सचिव तथा चन्द्रपुर नगरपालिकाकी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चन्द्रकला बरालले बाह्य हस्तक्षेप, दबाब र प्रभावलाई निरुत्साहित गर्न सके न्यायको पहुँचमा सहज हुने जनाइन् ।
पीडितलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्दा आफैँ असुरक्षित हुने लगायतको चुनौती रहेको बताउँदै उनले मानव अधिकार रक्षकहरुको संरक्षणको लागि नीति तथा कार्यक्रम ल्याउन पहल गर्नुपर्ने उनको तर्क थियो ।
कार्यक्रममा संचारकर्मी बाल विक्रम कार्की (अनमोल) ले पत्रकारबाट बाहिर ल्याइएका घटनाहरुको मानव अधिकारकर्मीले सुक्ष्म तरिकाले विश्लेषण गरी पीडितलाई न्याय दिनुपर्ने कार्यमा विशेष भुमिका हुनुपर्नेमा जोड दिए । पिडितलाई न्याय दिलाउन पत्रकारले कलम चलाएपनि कतिपय पिडितहरु नै प्रलोभनमा परेर पिडकसँग सहमती गर्दा पत्रकार असुरक्षित हुने गरेको उनले सुनाए ।
मानव अधिकार एलायन्सकी कोषाध्यक्ष गौरी न्यौपानेले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन एलायन्सका सचिव नविन राज बरालले गरेका थिए । एलायन्सका जिल्ला अध्यक्ष जितेन्द्र रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानवअधिकारकर्मी, संचारकर्मी, सहकारीकर्मी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।




