काठमाडौं । सर्वोच्च अदालत परिसर भित्रै प्रहरीलाई कुटपिट गरेपछि एक महिला पक्राउ परेकी छिन् । सर्वोच्चको इजलासमा कार्यरत कर्मचारीसँग रिट निवेदनको फैसलाको नक्कल लिने विषयमा विवाद भएपछि रिता नाम बताउने लुमा चौधरीले महिला प्रहरीलाई कुटपिट गरेकी थिइन् ।
घटना दिउँसो तीन बजे तिर भएको थियो । सर्वोच्च स्रोतका अनुसार फैसलाको नक्कल लिनका लागि आएको बताएपनि आफूलाई वकिल तथा वारेस बताउने ती महिलाले आफ्नो परिचय पत्र देखाउन नमानेपछि सुरुमा कर्मचारीसँग सवाल जवाफ भएको थियो ।
विवाद चर्किएपछि त्यहाँ पुगेका पुरुष प्रहरीलाई पनि जथाभाबी बोलेपछि उनले महिला प्रहरीलाई बोलाएका थिए । महिला प्रहरीले उनलाई कार्यालयको कोठाबाट बाहिर निस्कन आग्रह गरिरहेका बेला कपालमा समातेर भुत्याउन थालेकी थिइन् ।




