जनकपुरधाम । महोत्तरीमा पदीय मर्यादा विपरीत काम गर्ने ३२ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत रहेका ३२ जना प्रहरी कर्मचारीलाई कारबाही गरिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवालले जानकारी दिए ।
एक जना प्रहरी वरिष्ठ नायब निरीक्षक, १ जना प्रहरी नायब निरीक्षक, ४ जना प्रहरी सहायक निरीक्षक, २ जना प्रहरी वरिष्ठ हवलदार, ८ जना प्रहरी हवल्दार, ८ जना प्रहरी सहायक हवल्दार, ७ जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी कारबाहीमा परेका हुन् । कारबाहीमा परेका प्रहरी कर्मचारीहरुलाई नसिहत, बढुवा रोक्का, निलम्बन एवम् चेतावनी दिइएको छ ।
यस्तै, यस अवधिमा राम्रो काम गर्ने ९२ जना प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गरिएको प्रवक्ता जैसवालले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमा कार्यरत २५ जना, इलाका प्रहरी कार्यालय बर्दिबासका २४, इलाका प्रहरी कार्यालय गौशालाका ४३ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।




