रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका ६ फर्पुमा बिहिबार साँझ गएको पहिरामा परी तीन जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खसेको पहिराले तीन जनाको मृत्यु भएको हो । स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमश: १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको हो ।
बिहिबार साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । तर, सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही नभएको गोकुलगङ्गा ६ का वडाध्यक्ष चन्द्र सुनुवारले बताए ।
पहिराले घर पुरिएको सूचना पाउना साथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार टोली घटनास्थलतर्फ पठाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिए । घटनास्थलमा बेताली प्रहरी चौकीका प्रहरी, स्थानीयवासी लगायतले थप क्षति हुनबाट जोगाएका थिए ।




