महोत्तरी । समयमा नै ग्रावल उत्खनन् हुन् नसक्दा पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेलागाछी पुल बाढीका कारण क्षतिग्रस्त भएको छ । गएराति आएको अविरल वर्षाका कारण क्षतिग्रस्त भएको उक्त पूलबाट आवतजावत गर्न कठिनाई बनेपछि ठूला मालवाहक गाडी र यात्रुवाहक बस सडकमा नै रोकेर राखिएको छ ।

बर्दिवास बजारबाट ७ किलोमिटर पश्चिममा रहेको उक्त पूलको बीच भाग बाढीले क्षति पुर्याएको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार अहिले हलुका गाडी र मोटरसाइकललाई स्काभेटरको माध्यमले ओहोरदोहोर गराइएको छ भने ठूला गाडी र यात्रुवाहक बसलाई बैकल्पित सडक बनाएर ओहोरदोहोर गर्ने प्रयास गरिएको छ ।
बाढीले ल्याएको ग्रावल पूलसम्म नै आईपुग्दा क्षति पुगेको स्थानिय बताउँछन् । ‘हामीले पूलसम्म आईपुगेको ग्रावल उत्खनन् गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका थियौं तर यसमा कुनै चासो नदेखाएपछि आज यो क्षति भयो ।’ स्थानीय युवा शैलेशमणि दाहालले भने । ‘विपद अवस्थालाई मध्यनजर गरेर ग्रावल उत्खनन्मा जोड नदिए अन्य धेरै ठाँउका पुल जोखिममा छन् ।’

अहिले काठमाडौं, हेटौडा, वीरगंज लगायतका ठाँउहरुमा जाने सवारीसाधन विच बाटोमा नै रोकिएर बसेका छन् । तर, यात्रुहरुको मार्कालाई मध्यनजर गर्दै बैकल्पित सडकको माध्यमबाट आवतजावतमा सहजीकरणको काम भइरहेको इलाका प्रहरी कार्य बर्दिवासका प्रमुख रेवतीरमन पोखरेलले जानकारी दिए । न्युज कारखाना




