सिरहा । सिरहाको एक पालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले नै नगरपालिकामा मजदुरी गराएर श्रम शोषण गरेका छन् । जिल्लाको सुखिपुर नगरपालिकामा प्रधानकर्मचारी र जनप्रतिनिधिहरुले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा कार्यरत मजदुरहरुलाई काम गराएर तोकेको पारिश्रमिक नदिएर श्रम शोषण गरेका हुन् ।
स्थानीय मजदुरहरुले मजदुरी नपाएको भन्दै विगत पाँच दिनदेखि नगरपालिकाको मूख्य गेटमै तालाबन्दी गरेर धर्नामा बसेका छन् । दैनिक ६६७ रुपैयाँका दरले पारिश्रमिक दिने सम्झौता अनुसार तीन महिना काम गराएपनि आफूहरुले तोकेका पारिश्रमिक नपाएको सुखिपुर ६ का मजदुर सैदि सदायले बताए ।
उनी जस्तै सुखिपुर ६ कै रेखादेवि रामले पनि पारिश्रमीक पाएका छैनन् । वडा नम्बर १० का गनिता मोचि र अरहुलिया देवी रामसहित १५ जना श्रमिकले तोकिएको पारिश्रमिक नपाएको बताए ।
सुखिपुर ६ का मजदुर सैदि सदायले आफूहरुलाई दैनिक ६६७ रुपैयाँका दरले पारिश्रमिक दिने भनेर तीन महिना काम गराए अहिले खातामा १० हजार ६ रुपैयाँमात्र हालेको बताए ।
उनले भने, ‘हामीलाई पहिला तिमीहरु काम गर, सबै पैसा एकैपटक खातामा जान्छ भने, पछि खातामा रकम गईसकको सूचना पाएपछि बैंकमा गएर हेर्दा तोकिएको एक चौथाई रकम पनि छैन ।’
नगरपालिकामा गुनासो गर्न आउँदा पनि कसैले नसुनेपछि कार्यालयमा ताला लगाउन बाध्य भएको उनीहरु बताउँछन् । उनीहरुले आफूहरु श्रम शोषणमा परेकाले सरोकारवाला सबैलाई सहयोग गर्न समेत अपील गरे ।
उनीहरुले वडा नम्बर ६ र १० को वडा कार्यालयमा पनि तालाबन्दी गरेका छन् । लामो समयदेखि कार्यालयमा तालाबन्दी हुँदा सेवा प्रभावित भएको छ । यस प्रति सम्बन्धित व्यक्तिहरुको ध्यान गएको छैन ।
वडा नम्बर ६ का अध्यक्ष रामेश्वर साहले प्रधानमन्त्री स्वरोजगार अधिकारीले कामको लागि मजदुर माँगेपछि पठाएको बताए । वडा अध्यक्ष साहले पहिला दैनिक ज्यालादारी दिने भनेपनि अहिले आएर नाप–जाँचको आधारमा रकम दिएको भन्दै कर्मचारीहरु पन्छिने गरेको आरोप लगाए ।
वडा अध्यक्ष साहले मजदुरहरुले तत्काल तोकिएको सुविधा पाउनु पर्ने र कार्यालय सूचारु गर्न नेतृत्वले पहल गर्नेुपर्ने बताए । तालाबन्दीका कारण नगरपालिकाबाट हुने सम्पूर्ण सेवा प्रभावित भएको छ ।
नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत यस प्रति उदासीन रहँदै आएका छन् । तालाबन्दी भएको पाँच दिन वितिसक्दा पनि नगरपालिकाको तर्फबाट मजदुरहरुको दुखेसो सुनिएको छैन ।
सुखिपुर नगरपालिकाका मेयर राम औतार यादवलाई तपाईको कार्यालयमा तालाबन्दी गरेको रहेछ, कसले किन तालाबन्दी गरेको होरु भनि फोनबाट प्रश्न गर्दा उनले आफू अहिले बाहिर रहेको भन्दै फोन काटी दिए ।
यस विषयमा जान्न प्रमुख प्रशासकीय अधिकृत महेश कुमार ठाकुरको कार्यालयको नम्बर ९८५२८२९१११ मा फोन गर्दा फोन स्वीच अफ रहेको थियो । सम्बन्धित सरोकारवाला शाखाका स्वरोजगार अधिकारी अन्जिरा साहको पनि फोन उठेन ।
सूचना अधिकारी प्रमोद कुमार यादवले मजदुरहरुले पारिश्रमिक विवादका कारण तालाबन्दी गरेकाले आफू अहिले घरमै रहेको बताए । उनले भने, ‘विहान एक पटक कार्यालय गएको थिएँ, तालाबन्दीका कारण फर्कीएर आएँ ।’




