वीरगंज । वीरगंज–पोखरिया सडकखण्ड बहुअर्वाभाठामा रहेको एक उद्योगबाट गएराति ट्रान्सफर्मर चोरी भएको छ । विन्ध्यवासिनी गापाको गर्दौलस्थित गाद नदीको छेउमा रहेको ट्रान्सफर्मर चोरी भएको हो ।
जयलक्ष्मी उद्योगमा रहेको ट्रान्सफर्मर गएराति चोरहरूले पोलबाट तल झारी त्यसभित्र रहेको पित्तलका क्वायल, तेल लगायत अन्य सामान चोरी गरी लगेको उद्योगका सञ्चालक बाँकेप्रसाद कुर्मीले बताए ।
दिनभरि उद्योग सञ्चालनमा रहेको र राति कामदारहरू उद्योग बन्द गरी घर गएपछि चोरहरूले ट्रान्सफर्मरका सामान चोरी गरेको पीडित कुर्मीले बताए ।
चोरी भएको स्थानबाट पूर्व एक सय मिटरको दूरीमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका बेससमेत रहेका छन् । त्यतिमात्र हैन, वीरगंज–पोखरिया सडकखण्ड रातिको बेला पनि अति व्यस्त रहन्छ ।
सडकसँगै टाँसिएको उद्योगबाट चोरहरूले ट्रान्सफर्मरका सामान चोरीको घटना सुनेर स्थानीयहरू आश्चर्यचकित भएका छन् । गर्दौल तथा बहुअर्वाभाठा गाउँको सिमानामा रहेको गाद नदीसँगै पश्चिमपट्टि सो उद्योग रहेको छ ।
नजीकै रातभरि ट्राफिक प्रहरीले सवारी साधन चेकजाँच गर्छ । रातभरि सो सडकखण्डमा जनपद र सशस्त्र प्रहरीले गस्ती पनि गर्छन् । तापनि कसरी चोरी भयो भन्ने बारेमा प्रहरी पनि चकित छ ।




