झापा । झापाका टिकाराम नेपालकी श्रीमती मञ्जुकुमारी नेपालको रकम दाबी गरिएको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली रहेको प्रभु बैंकले जनाएको छ ।
बैंकका कोशी प्रदेश प्रमुख बद्री कटुवालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभइ नक्कली रहेको जनाएका हुन् ।
कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त व्यहोरा प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा थप छानविन भइरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।’
गत माघ ३ गते झापाका पत्रकार टीकारामले अमेरिका उड्नुअघि श्रीमती मन्जु कुमारी नेपालका नाममा प्रभु बैंकको स्थानीय शाखामा १ करोड १० लाख ४३ हजार रुपैयाँ ‘फिक्स डिपोजिट’ गरेको बताउँछन् । सोही हिसाब राखेका बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौला भने गत बुधबारदेखि सम्पर्कबिहीन छन् ।





