सिरहा । सिरहाको औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजित झाले एक जना सरकारी अधिकारीले घुस र कमिसन वापतको रकम आफ्नो बैंक खातामा जम्मा गर्न लगाएका छन् ।
प्रमुख प्रशासकीय अधिकृत झाले एक दुई जनासँग मात्र होइन दर्जनौ कर्मचारी र स्वयं गाउँपालिका अध्यक्ष शिवजी यादवलाई पनि कमिसन बापतको रकम पहिले नै उनको बैंक खातामा जम्मा गर्न लगाएर मात्र भुक्तानीको चेकमा हस्ताक्षर गरिदिएका छन् ।
आर्थिक वर्षको अन्त्य गत असार २५ गतेदेखि साउनको ८ गतेसम्ममा प्रमुख प्रशासकीय अधिकृत झाको विभिन्न बैंक खातामा कमिसन र घुसको १० लाखभन्दा माथि रकम जम्मा भएको छ । लगभग १० लाख जति उनले नगदै पनि बुझिलिएका छन् ।
औरही पालिकामा कार्यरत वन व्यवस्थापन अधिकृत सुशिल यादवसँग प्रमुख प्रशासकीय अधिकृत झाले २१ हजार कमिसन लिए । वन अधिकृत यादव भन्छन्, “मेरो भत्ता वापतको रकमको पनि चेक काटिएको थियो । तर, त्यो चेकमा सही गर्न ५० प्रतिशत कमिसन मागेपछि मैले दिन मानिन् । प्रशासकीय अधिकृत झाले चेकमा सही गरिदिएनन् । मेरो भत्ता डुब्यो ।”
यादवले भने, ओभरसियर मनोज कुमार यादवले त नगद १ लाख बुझाए पछि उनको सुपरभिजनमा रहेका योजनाहरुको भुक्तानी चेकमा हस्ताक्षर गरिदिए । यादव भन्छन्, ‘म अख्तियारमा गएर पनि यति कुरा बयान दिन तयार छु । कारवाहीमा परे पनि सहन्छु ।’ उनले थपे- ‘घुस लिन्या मात्र देशको शत्रु हो । घुस दिन्या त विवश जनता हुन् ।’
प्रमुख प्रशासकीय अधिकृत झालाई कमिसन बुझाउनेहरुमा सव इन्जिनियर आनन्द यादव, इन्जिनियर दीपेन्द्र यादव, सव इन्जिनियर बीरेन्द्र कुमार सिंह, इन्जिनियर सुरेन्द्र कुमार यादव र गाउँपालिका अध्यक्ष शिवजी यादवका छोरा रुकेश यादव पनि छन् ।
उनीहरुले न्युनतम ५१ हजारदेखि ३ लाखसम्म प्रमुख प्रशासकीय अधिकृत झाको बैंक खातामा रकम जम्मा गरिदिएका हुन् । इन्जिनियरहरुले आ-आफ्नो जिम्मामा रहेको साइटका उपभोक्ता समितिबाट घुस र कमिसनको रकम उठाएर झालाई बुझाएका हुन् ।
जो जसको भुक्तानी लिनु पर्ने थियो उनीहरु सबै कमिसन रकम बोकेर जनकपुर जानु परेको र उनले त्यहाँ पालिकाले भाडा तिर्ने गरी गोप्य रुपमा खडा गरेको सेटलाइट कार्यालयमा बसेर कमिसन बुझ्दै चेक दिंदै गरेका थिए ।
यस सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृत झाको प्रतिक्रिया माग्दा उनले बैंक खातामा रकम जम्मा गर्न लगाएको स्वीकार गरे । उनले भने, “मैले सापटी दिएको रकम फिर्ता लिएको हुँ, घुस र कमिसन लिएको होइन ।”
आर्थिक वर्षको अन्त्यमा अर्थात असार २८ गतेदेखि साउनको ८ गतेसम्म आधा दर्जन व्यक्तिसँग कैफियत महलमा सापटी फिर्ता लेख्न लगाएर रकम जम्मा गराउनु घुस वा कमिसन होइन भनेर प्रमाणित गर्न सक्नुहुन्छ त ? भन्ने प्रश्नमा उनले भने, “केही फरक पर्दैन । छानविन गर्नेले गरोस् । परेको बेहोर्न तयार छु ।”
कुन कुन मितिमा क-कसलाई कति कति रकम सापटी दिनुभएको थियो ? सापटी दिंदा बैंकमार्फत नै दिनुभएको थियो त ? भन्ने प्रश्नमा झाले प्रतिप्रश्न गर्दै भने, “त्यो मेरो व्यक्तिगत लेनदेन तपाईलाई किन भन्ने ?”




