काठमाडौं । विगत एक सातादेखि अवरुद्ध भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने सडक अन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानीगढी र देउराली सञ्चालनमा आएको छ ।
अविरल वर्षाका कारण आएको पहिरोले विगत एक सातादेखि अवरुद्ध बनेको सो सडक आज बिहानबाट सुचारु भएको हो । पहिरो पन्छाएर बिहानैदेखि भीमफेदी–कुलेखानी हुँदै काठमाडौंतर्फको यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी कुलेखानी—फाखेल सडकखण्डको विभिन्न स्थानमा गएको पहिरो पन्छाएर पनि कुलेखानी—काठमाडौंतर्फको यातायात सेवा पनि आजैबाट सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा नारायणगढ सडकखण्ड र त्रिभुवन राजपथको हेटौँडा–दामन हुँदै काठमाडौंतर्फको यातायात सेवा नियमित सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।
यसैगरी वर्षातका कारण आएको पहिरोले अवरुद्ध कुलेखानी—सिस्नेरी र कान्तिराजपथमा पनि यथाशीघ्र यातायात सञ्चालन ल्याउन प्रयास भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । रासस






