सिरहा । सिरहाको धनगढीमाई नगरपालिका अनियमितताको अखडा बनेको छ । अनियमितता गर्ने उदेश्यले नै योजना टुक्र्याउने, भनेका मान्नेहरुलाई राखेर उपभोक्ता समिति गठन गर्ने र उपभोक्तासँग रकम असुल्ने धन्दाले लुटतन्त्रको जालो उदाङ्गो भएको प्रष्ट देखिन्छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा नगरस्तरीय योजनामा मात्र एक करोड ३० लाख रुपैयाँ बोरिङ्ग तथा मोटर जडानको लागि छुट्याएको थियो । विनियोजित रकम हिनामिना गर्नकै लागि जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा योजना टुक्र्याई नामका लागिमात्र उपभोक्ता समिति बनाएर ठेकेदार मार्फत काम गराएको खुलेको हो ।
सबैभन्दा बढी ५५ लाखको उपभोक्ता समिति बोरिङ्ग र मोटर जडान ११, १२ र १३ मा लक्ष्मी यादव अध्यक्ष गरेका छन् । समितिका अध्यक्ष यादव वडा कार्यालयका कर्मचारी पनि हुन् । रकम कुम्ल्याउन सजिलो पार्नकै लागि नियम मिचेर कर्मचारीलाई अध्यक्ष बनाएको स्थानीयको भनाई छ ।
योजनाको सचिवमा सूर्यनारायण महतोको नाम छ । विडम्वना उनलाई आफू उपभोक्ता समितिमा रहेको जानकारी नै छैन । सचिव महतोलाई तपाई बोरिङ्ग र मोटर जडान उपभाक्ता समितिको सचिव हो ? भनि सोध्दा उनले आफू कुनै समितिमा बसेको जानकारी नभएको बताए ।
उनले भने, ‘म समितिमा बसेको जानकारी छैन, बुझेर थप कुरा भनुला ।’ उपभोक्ता समितिलाई नै जानकारी नहुने गरी बनेको समितिले कसरी फाइल तयार पार्यो र बैंक खाता खाल्यो भन्ने प्रश्न टड्कारो रुपमा उठेको छ ।
अपारदर्शी तथा मनपरी ढङ्गले समिति गठनमात्र हैन यसको सम्पूर्ण काम समेत ठेकेदारमार्फत गराएको छ । धनगढीमाई नगरपालिका ११ मा ४ वटा बोर्डिङ्ग र मोटर जडान भएको छ । बोर्डिङ जडान भएको उपभोक्तालाई भने समितिको नाम थाहा छैन् ।
नगरस्तरीय योजनामा बोरिङ्ग र मोटर जडान गर्ने भनेपनि उपभोक्तासँग प्रति बोरिङ्ग ३० देखि ४० हजारसम्म नगद असुल गरेका छन् । वडा अध्यक्ष र मेयरको खास मान्छेमार्फत रकम असुलेको बताइन्छ ।
धनगढीमाई ११ की उपभोक्ता उषा महतो, समिता मगरसहितका ६ घर परीवारले ७ हजारको दरले रकम उठाएर वडा अध्यक्ष अशोक श्रेष्ठको निर्देशनमा स्थानीय पवन महतोलाई ४० हजार रुपैयाँ बुझाएको बताए ।
उनीहरुले भने, ‘पैसा जम्मा नगरेसम्म बोरिङ्ग नदिने भनेपछि हामीले घरही ७ हजारका दरले उठाएर ४० हजार पवन भाईलाई दियौं । त्यसमध्ये १० हजार फिर्ता दिने भनेको छ । तर, अझै फिर्ता भएको छैन ।’
उनीहरुलाई रकम लिएको भन्दा पनि बोरिङ्ग सफल नभएकोमा चिन्ता छ । पिउने पानीको चरम अभाव भोगिरहेका उनीहरुले वडा अध्यक्षले पैसा नबुझाई बोरिङ्ग नदिने भनेपछि रकम दिए । तर, अहिले जडान भएको वोरिङ्गबाट पानी नआउँदा चिन्तित छन् ।
‘बोरिङ्ग जडान भएको एक साता पछि मोटर ल्याईदिए र मोटर जडान गरेको २/३ घण्टापछि बन्द भएको मोटर अझै चलेको छैनस ती उपभोक्ताहरुले दुखेसो गरे ।
त्यसैगरी, सोही वडाका सिंङ्गेश्वर ठाकुर र धुर्निदेवि महतोसँग पनि ३०/३० हजार रुपैयाँ वडा अध्यक्ष अशोक श्रेष्ठले लिएका छन् । वडा अध्यक्ष श्रेष्ठले पैसा नबुझाएसम्म बोरिङ्वग दिन्न भनेपछि बाध्येय भएर रकम बुझाएको बताए ।
यस वडामा मात्र हैन वडा नम्वर ८ का उपभोक्ता उपेन्द्र महतोसँग पनि उनीहरुले रकम असुल गरेको छ । दुई महिना अघि नै काम सम्पन्न भएको महतोले फिर्ता दिने सर्तमा मिस्त्रीलाई दिएको रकम अझै फिर्ता भएको छैन ।
यो सम्पूर्ण घटनाहरुले धनगढीमाई नगरपालिकामा हुने अनियमितता चित्रण गरेको छ । प्रत्येक वडामा उपभोक्तासँग बोरिङ्ग जडान गर्दा मोटर किन्न, मिस्त्रिलाई दिन, मेसिनमा तेलहाल्ने नाममा रकम असुल गरेको छ ।
यस सम्बन्धमा जान्न ११ नम्वर वडा अध्यक्ष श्रेष्ठलाई कार्यालयमा भेट्न जाँदा भेट्नु भएन । त्यसपछि एक सातासम्म निरन्तर फोन अफ रहेको छ । रकम उठाउने कार्यमा नाम जोडियका पनव महतोले भने आफू यस प्रकृयामा कतै नजोडिएको जिकिर गरे ।
पैसा उठाएको विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले आफूसम्म पनि बेला बेला यस्तो कुरा आएको बताए । उनले भने, ‘म कहाँ पनि यो कुरा आई रहेको थियो । मैले आफैले पनि खोजीनिती गरिरहेको छु । कुनै पनि उपभोक्तासँग रकम लिएको भन्ने पुष्टि भए रकम लिनेलाई कार्वाही गर्छु ।’
प्रमुख दासले समयमा काम सम्पन्न नभएकोले यो योजनाहरुको भुक्तानी समेत नभएको बताए । उनले विभिन्न कारणले समयमा काम सम्पन्न हुन सकेन । त्यसैले भुक्तानी बाँकी रहेको जानकारी दिए । न्यूज कारखाना




