सिरहा । पानीको निकास नहुँदा सिरहाको सुखीपुर नगरपालिका ८ स्थित नगरस्तरीय २५ शय्याको सुखीपुर स्वास्थ्य चौकीमा सामान्य वर्षामै जलमग्न हुने गरेको छ । जलमग्न हुँदा अस्पताल आउने बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोग्दै आएका छन् ।
स्वास्थ्य चौकीको दुवैतर्फ अग्लो पक्की सडक बनेसँगै विगत पाँच वर्षदेखि अस्पताल क्षेत्र जलमग्न हुँदै आएको स्थानीय इन्द्रजीत साहले बताए । पानीको निकास थुनेर नजिकमा पक्की घरका संरचना बन्दै जाँदा समस्या बढ्दै गएको उनको भनाइ छ ।
पानी निकास बारे पटक पटक सम्बन्धित निकायमा पहल गरिएपनि आश्वासन मात्र पाइएको अस्पतालका सिनियर अहेब जगत सिंहले बताए । अस्पताल क्षेत्रको सडकमा नाला निर्माण पूरा नहुँदा समस्या भएको सोही क्षेत्रका वडाध्यक्ष किशोरीप्रसाद चौधरी बताउँछन् ।
आधा नाला अघिल्लो नगरप्रमुखको कार्यकालमा निर्माण भइसकेको र आधा काम बाँकी रहेकाले नगरपालिकासामु पटक पटक पहल गरिए पनि सुनुवाइ हुन नसकेको उनको गुनासो छ । यस्तै नगरप्रमुख रामऔतार यादवले पानी निकासमा आएको समस्याका बारेमा बुझेर चाँडै निराकरण गर्ने बताए ।




