एजेन्सी । पेरिस ओलम्पिकमा अल्जेरियन बक्सर इमान खलिफले स्वर्ण पदक जितेकी छन् । पेरिस ओलम्पिकको ६६ केजी तौल समूहको महिला बक्सिङ प्रतियोगितामा इमान खलिफले स्वर्ण पदक जितेकी हुन् ।
एक वर्षअघि उनी लैङ्गिक योग्यता परीक्षामा असफल भएपछि विश्व बक्सिङ च्याम्पियनसिपबाट अयोग्य घोषित भएकी थिइन् । खलिफले चिनियाँ बक्सर याङ्ग्या लिउलाई हराउँदै स्वर्ण पदक हात पारेकी हुन् ।
‘यो मेरो सपना थियो र म धेरै खुसी छु’, इमान खलिफले बीबीसीसँग भनेकी छन्, ‘यो मेरो ८ वर्षको कडा परिश्रम हो, म अल्जेरियाका जनतालाई धन्यवाद दिन्छु ।’
उस्तै पेरिस ओलम्पिकमा पनि उनी विवादमा परेकी थिइन् । इटालियन बक्सर एन्जेला कारिनीसँग भिडन्त भइरहेका बेला उनलाई पुरुष भएको आरोप लगाइएको थियो । खलिफ र करिनीबीचको खेल ४६ सेकेन्डमै सकिएको थियो ।
करिनीले भनेकी थिइन्, ‘मैले ज्यान जोगाउनुपर्यो ।’ यसपछि सामाजिक सञ्जालमा बहस सुरु भयो, त्यसपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले इमान खलिफले नियम अनुसार नै खेलिरहेको भन्दै विज्ञप्ति जारी गर्नुपरेको थियो ।






