सिरहा । पछिल्लो समय सिराहामा नियामक निकायकै सेट्रि«ङमा खुल्ला सीमा–नाकाहरुबाट व्यापक रुपमा तस्करी भइरहेको पाइएको छ । जिल्लाका सीमा नाकामा तैनाथ शसस्त्र प्रहरी, सीमा सुरक्षामा खटाइएको नेपाल प्रहरी र भन्सार कार्यालयकै सेटिङमा दिनदहाडै तस्करी भइरहेको हो ।
खुल्ला सीमा क्षेत्रमा पर्ने भारतीय बजार लौकाहा, लदनीयाँ, जयनगर लगायतबाट खाद्यान, किराना सामान, लत्ताकपडा जस्ता सामाग्री नियमनकारी निकायकै निगरानीमा नेपाल भित्रीने गरेको सीमा क्षेत्रका बासिन्दाहरु बताउँछन् ।
दैनिक उपभोग्य सामाग्रीसँगै नजिकिदै गरेको चाडपर्वको लागी भारतबाट अहिले नै नागिन पटाका, हाइड्र«ोबम, बारुद लगायतका हात हतियार समेत भित्रिन थालेपछि सीमा क्षेत्रका बासिन्दाहरु त्रसित बनेका छन् ।
हात हतियारका चोरी पैठारीले सीमावर्ती क्षेत्रमा आपराधिक घटना घट्न सक्ने त्रासमा छन् स्थानीय । सीमा शुरक्षाका लागि सयौं शुरक्षा बल र भन्सारका कर्मचारीहरु परिचालन भएपनि चौविसै घण्टा खुल्लेयाम तस्करी हुनुले नियामक निकाय नै मिलेमत्तोको पुष्टि हुने स्थानियहरु बताउँछन् ।
सिरहाका करिव ४२ किलोमिटर सीमाक्षेत्रमा शसस्त्र प्रहरीको ७ वटा विओपि र नेपाल प्रहरीको ७ वटा ईलाका पहरी कार्यालय रहेपनि तस्करहरुले ईलाका देखि जिल्लाका प्रमुख समेतलाई मोटो रकमको चलखेल गरी तस्कर राज नै चलाएको कुनै समय तस्करीमा सक्रिय एक व्यवसायी बताउँछन् ।
उनी भन्छन्, ‘मैले पनि कुनै समय काम गरें, काम गर्दा पैसा खर्च गर्दा पनि यसरी खुल्लेयाम गर्न सकिन्न थियो । अहिले व्यसायीले कति पैसा खर्च गर्छ । अहिले त तरस्करको लागि ‘स्वर्ण युग’ भएको छ ।’
तस्करहरुले चाडपर्वलाई लक्षित गरी अहिलेदेखि नै जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाकाहरु प्रयोग गरी चौविसै घण्टा चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान र दिपावली, छठ पर्वको लागी पटाका, बम, बारुद र अन्य हातहतियार समेत नेपाल भित्राउने गरेको राम औतार यादव (नाम परिवर्तित) ले बताए ।
नेपाल बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामाग्रीहरु पारी भारतीय बजार पु¥याउन सीमानाकामा तैनाथ प्रहरीहरुले नै तस्करी गराउने गरेको यादवको भनाई रहेको छ ।
उनका अनुसार तस्करहरुले झाझपट्टी, बरहरी, वरियारपटि र औरही नाकाबाट एक दिनमा मात्र करिव तीन करोड भन्दाबढीको समान नेपाल भित्रिने र नेपालका सीमा नाका नजिकै रहेका मदिरा पसलबाट मदिरासमेत भारतीय बजार पुर्याउने गरेका छन् ।
तस्करहरुले सीमा नाकामा बस्ने प्रहरी जवानदेखि शसस्त्र एसपी, नेपाल प्रहरी एसपी, भन्सार प्रमुख लगायतका कर्मचारीहरुलाई एकमुस्ट रुपमा मोटो रकम तिरेर नाकाहरुको वरिपरि राखिएको गोदाममा भण्डारण गर्ने र रातभरी निर्धक रुपमा प्रहरी प्रशासनकै आँखा अगाडीबाट तस्करी गर्ने गरेको औरही गाउँपालिकाका नाम नबताउने शर्तमा एक जना तस्करले नै बताए ।
सीमा नाकामा खटीएका शसस्त्र प्रहरी, नेपाल प्रहरीहरुले नै नजराना लिएर तस्करको संरक्षण गर्ने गरेको उनको भनाई छ । उनले थपे , ‘यस क्षेत्रबाट रातभरी प्रहरी प्रशासनकै सेटिङमा भारतीय बजारबाट मालसमान ल्याएर म्याजिक, टेम्पो, पिकअप र मोटरसाइकल मार्फत सिरहा सदरमुकाम लगायतका लहान, धनगढी, गोलबजार, मिर्चैया सम्म पुर्याउने गरेको छ ।’
यसरी भारतीय वजारबाट भन्सार छली गरी ल्याइएका सामान लहान, सिरहा, मिर्चैया र गोलबजारका गोदाममा जम्मा गरी स्थानीय बजार र जिल्ला बाहिरका बजारहरुसम्म पुग्ने गरेको छ । यस प्रति स्थानीय प्रहरी प्रशासनको मौनता उदेकलाग्दो छ ।
राज्य नै आर्थीक संकट झेलिरहेको अवस्थामा राजस्व छली गरी भारतीय बजारसँगै जोडिएका सीमा नाकामा विगत लामो समयदेखि तस्करी भइरहँदा र सुरक्षा निकायका प्रमुखदेखि भन्सार कर्मचारीले मोटो रकम असुली गरिरहँदा पनि सरोकारवाला निकाय मौन भएर बसेका छन् ।
सीमा क्षेत्रबाट अनियन्त्रित रुपमा भईरहेको तस्करीको सन्बन्धिमा सिरहास्थित सशस्त्र प्रहरीको ७ नम्बर गणका गणपती शिव गैरेसँग जिज्ञासा राख्दा उनले तस्करी नियन्त्रणको लागि सबै उपायहरु प्रयोग गरेको बताए । उनले प्रत्यक दिन आफै हिडेर गस्ती गर्ने गरेको बताए ।
उनले गत आर्थिक वर्षमा सशस्त्र प्रहरीले ८ करोड ४१ लख १७ हजार सात सय ३८ रुपैयाँ बरावरको भन्सार छलिको सामाग्रि नियन्त्रणमा लिएर भन्सार बुझाएको बताए । जिल्लामा भइरहेको तस्करीको बारेमा बुझ्न जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितसँग फोन सम्पर्क गर्दा उनले अहिले बैठकमा छु भन्दै फोन काटे ।
तस्करी बढेपछि राजस्व घटदै
प्रहरी प्रशासनकै सेटिङ्गका कारण जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटो प्रयोग गरी यस क्षेत्रमा व्यापक चोरी तस्करी बढेपछि भन्सार कार्यालय माडरको राजश्व असुली अवस्था निरन्तर खस्किदै गइरहेको देखिएको छ ।
भन्सार कार्यालय माडर खैरटोकाले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ७९ प्रतिशत मात्र रकम उठाएको छ । कार्यालयले लिएको वार्षिक लक्ष्य ११ करोड ९९ लाख ५६ हजारमा कुल रकमको ७९ प्रतिशत अर्थात ९ करोड ४६ लाख ८ हजार रुपैयाँ मात्र राजस्व असुली भएको सिरहा भन्सार कार्यालय माडर खैरटोकाका प्रमुख तोयानाथ सापकोटाले जानकारी दिए ।
गत आर्थिक वर्षको खैरटोका भन्सारबाट सबै भन्दा बढी एलवेस्टरबाट भन्सार उठेको कार्यालयले जनाएको छ । प्रमुख सापकोटाले पछिल्लो दिनमा आफू हाजिर भएपछि भन्सार संकलनमा वृद्धि भएको बताए । गत फागुन महिनादेखि लक्ष्यभन्दा बढी भन्सार उठेको भएपनि सम्पूर्णमा कम उठेको छ ।




