रौतहट । रौतहटको कटहरिया स्थित तलब भत्ताको माग गर्दै शिक्षिका तथा विधालय कर्मचारी धर्नामा बसेका छन् । आगामी ४ गते मंगलबारसम्म तलब भत्ता नपाएमा ५ गते बुधबारदेखि नगरको सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।
नेपाल विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिको आयोजनामा शिक्षिका तथा विधालय कर्मचारी नगरपालिका प्राङ्गण भित्र आइतबार धर्नामा बसेका हुन् ।
नगरभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण विद्यालय कर्मचारीहरू, बाल विकास सहयोगी कार्यकर्ताले तलब र भताको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।
सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताले आर्थिक वर्ष २०७९/८० को वैशाखदेखि अषाढ मसान्तसम्मको न्यूनतम थप तलब, यस आर्थिक वर्षको वैशाखदेखि हालसम्मको तलब र प्रति महिना दुई हजारको दरले प्रोत्साहन भत्ता समेतको रकम निकासा नभएर कसैले पनि न पाएर कठिनाई भएको छ ।
सम्पूर्ण विद्यालय कर्मचारी र सहयोगी कार्यकर्ताले आगामी ५ गते मंगलबारसम्म तलब भत्ता निकासा नभएमा निम्न अनुसारको आन्दोलन गर्न बाध्य हुने बताएका छन् ।
आजदेखी सुरु भएको धर्नालाई भोली ३ गतेसम्म निरन्तरता दिने, भदौ ४ गते हातमा कालो पट्टी बाँधेर आआफ्नो विद्यालयमा काम काज गर्ने र भदौ ५ गतेदेखि कटहरिया नगर क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिने धर्नामा सहभागी एक जना शिक्षक देवीलाल कुशवाहाले बताएका छन् ।
कटहरिया स्थित सम्पूर्ण सामुदायिक विद्यालयहरुमा विद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ता गरी ६४ जना कार्यरत रहेका छन् ।
कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल, उपमेयर रिता देवी यादवसहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा दोषी ठहर भएर झण्डै १ महिना अघि निलम्बित भएपछि बाल विकास शिक्षिका तथा विधालय कर्मचारी तलब सुबिधा पाउनबाट बञ्चित भएका छन् ।
गत आर्थिक वर्षको अन्तिम महिना असारमा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले चासो न लिएको कारण तलब सुबिधा पाउन नसकेको उनीहरूको आरोप रहेको छ ।
करार तथा दैनिक ज्यालादारीको नाउँमा मेयर जैसवालले वार्षिक करोडौं रकम निकासा गराउँछन् । तर, दिनरात मिहिनेत गरेका विद्यालय कर्मचारी तथा बालविकास शिक्षिकाको तलब भत्ता निकासा गराउन मेयर जैसवालसँगै नगर शिक्षा संयोजक अनिल कुमार निधिले समेत चासो न देखाएको पीडितहरुले गुनासो गरेका छन् ।




