संखुवासभा । संखुवासभाको नागरिक आरोग्य सेवा केन्द्र पाँचखपनका इन्चार्जमाथि कुटपिट भएको छ । नागरिक आरोग्य सेवा केन्द्र पाँचखपन नगरपालिका २ स्थित टाइगरचोकका इन्चार्ज ज्ञानेन्द्रप्रसाद शाहमाथि कुटपिट भएको हो ।
नागरिक आरोग्य सेवा केन्द्र पाँचखपनका इन्चार्ज शाहमाथि कार्यालय परिसरमै पाँचखपन २ का भीषण जिमीले कुटपिट गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र संखुवासभाका प्रमुख रामप्रमोध चौधरीले जानकारी दिए ।
आरोपित जिमीले नागरिक आरोग्य सेवा केन्द्रका इन्चार्ज शाहमाथि औषधि किन्ने बाहनामा कार्यालय परिसर भित्रै कुटपिट गरेको थिए । पहिलो चरणमा सम्झाइ बुझाइ गरेपनि जिमीले राति फेरि खुकुरी लिएको शाहको कोठामा पुगेर धम्की दिएका थिए ।
आज शाहले प्रहरीमा जाहेरी दर्ता गराए पनि उनी पक्राउ परेका छैनन् । यसअघि गत साउन १५ गते नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय मादीका इन्चार्ज राजकुमार राई र प्रदीप जिमीमाथि कुटपिट भएको थियो । जिल्लामा पछिल्लो समय राजनीतिक दलको आडमा कर्मचारीमाथि निरन्तर आक्रमण हुन थालेको छ ।




