बारा । बारा रौतहट लगायतका जिल्लामा लामो समयदेखि अवैध लागुऔषधको बिक्री वितरण गर्दै आएका एक व्यक्तीलाई बारा प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको विभिन्न मुद्धामा फरार रहेका रौतहट फतुवा विजयपुर ७ घर भएका ध्यानी राउत कुर्मिको छोरा २४ वर्षीय रामविनय प्रसाद पटेललाई प्रहरीले पक्राउ गरेको हो ।
पटेलविरुद्द विभिन्न जिल्लामा पक्राउ पुजी जारी भएतापनि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको भने थिएन तर बुधबार ईलाका प्रहरी कार्यालय निजगढका प्रहरीले उनलाई बाराको निजगढ नगरपालिका ९ सहिद चोकबाट नियन्त्रण लिन सफल भएको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख तथा प्रहरी निरिक्षक सुमित कुशवाहले जानकारी दिए ।
यसअघि प्रहरीले गत असार १ गते निजगढ नगरपालिका ७ घर भएका ३३ वर्षिय विकास रुम्बालाई पक्राउ गरेको थियो । प्रहरीले रुम्बासँग २५० पिस लागुऔषध ट्रामाडोल टैबलेट सहित पक्राउ गरेको थियो । रुम्बाले पटेलसँग टैबलेट खरिद गरि निजगढका विभिन्न प्रयोगकर्तालाई विक्रि वितरण गर्ने काम गर्दै आएका थिए ।
रुम्बाकै बयानको आधारमा निजगढ प्रहरीले उनलाई प्रक्राउ गरेको हो । उनी ईलाका प्रहरी कार्यालय निजगढको लागुऔषध मुद्धा नम्बर ८० को चालु मुद्दाका फरार प्रतिबादी हुन् । यस्तै पर्सा प्रहरीले गत साउन १३ गते निजगढ नगरपालिका ९ घर भएका ४३ वर्षीय गणेश पाण्डे र मिलन पाण्डेलाई एक लाख १७ हजार पिस लागुऔषध ट्रामाडोल टैबलेटसहित पक्राउ गरेको थियो । उनीहरुले भारतबाट नेपाल लागुऔषध भित्र्याउँदै गर्दा प्रहरीले उनीहरु सवार गाडी सहित पक्राउ गरेको थियो ।
पछिल्लो समयमा बाराको निजगढबाट लागुऔषधको कारोबारमा संग्लन गरेको व्यक्तीहरु पक्राउको सिलसिलाले समेत यस क्षेत्रमा लागुऔषधको कारोबारी र प्रयोगकर्ताहरुको संख्यामा वृद्धि भएको देखाएको हो । यस क्षेत्रबाट भारत तर्फ विशेष गरी लागुऔषध गाजा नियात हुने गरेको छ भने भारतबाट नेपालमा लागुऔषध ट्रामाडोल टैबलेट लगायत आयत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।




