रौतहट । रौतहटमा अनुमतिबिना आर्केस्टा नचाउन, नाचगान गर्न नपाइने भएको छ । जिल्ला प्रहरी कार्यालयले बिहिबार सूचना जारी गरी अधिकार प्राप्त अधिकारी, निकायको अनुमतिबिना विभिन्न चार्ड पर्वको नाममा गाउँ गाउँमा दिन र रातको समयमा अश्लीलता झल्किने किसिमका भोजपुरी गीत गाउने, लवण्डा नचाउने, आर्केस्टा नचाउने, मनोरञ्जनको नाममा जुवा खेल्ने खेलाउने जस्ता क्रियाकलाप गर्न नपाइने जानकारी दिएको हो ।
यस किसिमको क्रियाकलापले पछिल्लो समय जिल्लाका विभिन्न ठाउँमा एक आपसमा झै-झगडा तथा कुटपिट गर्ने, ढुङ्गा मुढा गर्ने, विभिन्न मानिसहरुको धन सम्पति क्षती भएकोले बिना अनुमति यस्तो क्रियाकलाप नगर्न जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै आग्रह गरेको छ ।
धार्मिक, सांस्कृतिक, राजनैतिक आदि कुनै पनि किसिमको नाँच गान हुने वा भिडभाड जस्ता कार्यक्रम गर्दा अनिवार्य रुपमा कार्यक्रम गर्ने आयोजक पक्षले कार्यक्रम संचालक समिति गठन गरी के कस्तो कार्यक्रम गर्ने ? कुन समयमा गर्ने ? कुन स्थानमा गर्ने ? सहभागी संख्या कति हुने ? लगायत विषय वस्तु खुलाई जिल्ला प्रशासन कार्यालय र सम्बन्धित निकायबाट ईजाजत (अनुमति) लिई मात्र गर्न रौतहटकी प्रहरी प्रवक्ता (डिएसपी) एलिजा गिरीले जानकारी दिइन् ।




