धनुषा । धनुषाको औरही गाँउपालिका आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनको गुणस्तर परीक्षणमा मधेस प्रदेशको उत्कृष्ट भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार औरही गाउँपालिका ८३.७५ अंक सहित सर्वोत्कृष्ट भएको हो ।
स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा १० वटा सूचकमा एक सय प्रश्नहरु हुन्छन् । औरहीले १० सूचकमध्ये शासकीय प्रबन्ध ७.५, संगठन तथा प्रशासन ६, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन ६.५, वित्तीय एवम् आर्थिक व्यवस्थापन १०.७५, सेवा प्रवाह १६, न्यायीक कार्य सम्पादन ७, भौतिक पुर्वाधार ८.५, सामाजिक समावेशीकरण ८.५, वातावरण संरक्षण तथा विपद व्यवस्थापन ७, सहकार्य र समन्वय ६ ल्याएको हो ।
विभिन्न सूचकमा ९ देखि १६ अंकसम्म पूर्णांक तोकिएको हुन्छ । सम्पूर्ण कर्मचारीहरुको अथक मिहिनेत र प्रयासका साथै जनप्रतिनिधिहरुको सहयोगबाट गाउँपालिका प्रदेश मै उत्कृष्ट भएको प्रमुख प्रशासकीय अधिकृत सविर कुमार महतोले बताए ।




