सिरहा । सिरहाको गोलबजार नगरपालिका-७, चोहर्वा गाउँस्थित जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
दिउँसो करिब १२:३० बजे लघुवित्तबाट ऋण लिएका १५० महिला सदस्यहरू अचानक कार्यालयमा भेला भएका थिए । उनीहरूलाई १०-१५ जना पुरुषहरूले पनि साथ दिएका थिए । प्रत्यक्षदर्शीका अनुसार, ऋणी महिलाहरूले कार्यालयमा पसेर फाइल र कागजातहरू माथिल्लो तलाबाट तल फाल्न थाले ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीका अनुसार, क्षतिको यकिन मूल्याङ्कन हुन बाँकी छ भने घटनाको अनुसन्धान पनि सुरु भइसकेको छ । हालसम्म कसैलाई पक्राउ नगरिएको भएपनि आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गरी खोजी भइरहेको छ ।
स्थानीयहरूको भनाइअनुसार, लघुवित्त संस्थाहरूले चर्को ब्याजदर लगाएर ऋणीहरूलाई शोषण गरिरहेको भन्दै ऋण नतिर्ने र वित्तीय संस्थाहरूलाई कारबाही गर्ने दबाब स्वरूप यस्तो आक्रमण गरिएको हुन सक्छ ।




