काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको फाइनलमा घरेलु दर्शकले मैदानमा पानीको बोतल फालेका छन् । बंगलादेशले तेस्रो गोल गरेपछि घरेलु दर्शकले मैदानमा पानीको बोतल फालेका हुन् ।
बंगलादेशले ७१ औं मिनेटमा तेस्रो गोल गरेको थियो । लगतै डिबक्स एरियामा नेपाली खेलाडी फउल गर्न पुगे । बंगलादेशका कप्तानले घरेलु समर्थकलाई हुटिङका लागि अपील गरेपछि केही दर्शकले पानीको बोतल मैदानमा फालेका हुन् ।
पानीको बोतल मैदानमा फालेपछि खेल केहिबेर रोकिएको थियो । तर, नेपाली खेलाडीहरूले दर्शकहरूलाई संयमित रहन आग्रह गरेपछि खेल फेरि सुरु भयो ।
बंगलादेशले जित्यो उपाधि
बंगलादेशले नेपाललाई पराजित गर्दै साफ यु-२० च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो । बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए । त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औं मिनेटमा गरेका थिए ।
त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१ औं मिनेटमा रब्बी हुसेनले गरेका थिए भने ९० मिनेटको इन्जुरी समयपछि बंगलादेशक पियास अहमद नोभाले चौथो गोल गरेका थिए । नेपालका लागि एक गोल समीर तामाङले ८० औं मिनेटमा गरेका हुन् । योसँगै बंगलादेशले पहिलो पटक साफ यु-२० च्याम्पियनसिपको उपाधि जितेको छ ।






