झापा । कमल गाउँपालिका ३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयमा दुईजना शिक्षकलाई प्रधानाध्यापकको रूपमा नियुक्त गरिएपछि विद्यालयमा १५ दिनदेखि तनावपूर्ण अवस्था छ । गाउँपालिकाले साउन २९ गते शिक्षक नवराज नेम्वाङलाई प्रधानाध्यापक पदमा नियुक्त गरेको थियो । तर, भोलिपल्टै साउन ३० गते विद्यालय व्यवस्थापन समितिले पालिकाको निर्णय अस्वीकार गर्दै शिक्षक शिवप्रसाद भट्टराईलाई प्रधानाध्यापकको रूपमा नियुक्त गर्यो । यो द्वन्द्वका कारण विद्यालयको शैक्षिक वातावरण अस्तव्यस्त भएको विद्यार्थी सञ्जालका अध्यक्ष लक्ष्मण चौधरीले बताए ।
“प्रधानाध्यापक को हुनुहुन्छ भन्ने भन्दा पनि हाम्रो प्राथमिकता विद्यालयको पठनपाठनलाई निरन्तरता दिनु हो,” उनले भने, “तर बाहिरका मानिसहरू विद्यालय परिसरमा आएर होहल्ला मच्चाउँछन्, जसले पठनपाठनमा बाधा पुर्याइरहेको छ ।” विद्यार्थी सञ्जालले शैक्षिक गतिविधि प्रभावित नहोस् भन्ने आग्रह गर्दै, विद्यालयभित्र विवाद, छलफल, र विरोधका कार्यक्रम नगर्न सबै पक्षलाई चेतावनी दिएको छ । अध्यक्ष चौधरीका अनुसार, सञ्जालले व्यवस्थापन समिति, वडा कार्यालय, र स्थानीय प्रहरी कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
गाउँपालिकाले शिक्षक नेम्वाङलाई शिक्षा ऐनको मापदण्डविपरीत प्रधानाध्यापकमा नियुक्त गरेको आरोप व्यवस्थापन समितिले लगाएको छ । व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाले शिक्षा ऐनअनुसार १० वर्ष सेवा अवधि पूरा गरेका ज्येष्ठ स्थायी शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्नुपर्ने स्पष्ट प्रावधान रहेको बताए । विद्यालयमा नियुक्त भएका दुई प्रधानाध्यापकका पक्षधरहरूले विद्यालय परिसरमा शक्ति प्रदर्शन गर्न थालेका छन् ।
गाउँपालिकाको निर्णय कार्यान्वयन गर्नुपर्ने भन्दै एउटा समूहले संयुक्त सङ्घर्ष समिति पनि गठन गरेको छ । विद्यालयमा उत्पन्न तनावपूर्ण वातावरणका कारण पठन पाठनमा समस्या देखिएपछि व्यवस्थापन समिति, वडा कार्यालय, र स्थानीय प्रहरीलाई तत्काल समाधान खोज्न विद्यार्थी सञ्जालले आग्रह गरेको छ । हाल विवादका कारण विद्यालयको नेतृत्व निमित्त प्रधानाध्यापक प्रभाकर काफ्लेले गरिरहेका छन् ।




