सिरहा । राजविराज–छिन्नमस्ता सडक निर्माणको काम दुई वर्षदेखि जारी छ । सप्तरी जिल्लाको प्रख्यात पवित्र धार्मिकस्थल छिन्नमस्ता भगवती शक्तिपीठसम्म पुग्नका लागि यो सडक निर्माण गत असारमै पूरा भइसक्नुपर्ने थियो, तर हालसम्म जम्मा २९ प्रतिशत काम मात्र सम्पन्न भएको छ ।
सडकको अवस्था यति खराब छ कि कतिपय स्थानमा पैदल यात्रासमेत कठिन भएको छ । सडकमा खाल्डाखुल्डी मात्र देखिन्छन्, जसमा पानी जमेर पोखरी जस्तो बनेको छ । मोटरसाइकल चलाउन पनि चुनौतीपूर्ण बनेको भन्दै शक्तिपीठ दर्शन गर्न आएका भक्तजनले गुनासो गरेका छन् ।
यस सडकमा बस सेवा बन्द भएको छ, र केवल अटोरिक्सा मात्र चलिरहेको छ । अटोरिक्सा चालकहरूले यात्रुहरूबाट मनपरी भाडा असुल्ने गरेको स्थानीयले बताए । बाटोको बिग्रेको अवस्थाका कारण १० किलोमिटरको यात्रा पूरा गर्न एक घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।
स्थानीयले तत्काल सडक स्तरोन्नतिको माग राखेका छन् । राजविराज–छिन्नमस्ता–नेउर बोर्डर सडकखण्डको निर्माण कार्यको शिलान्यास २०७८ चैतमा गरिएको थियो । लहानस्थित सडक डिभिजन कार्यालयले यो सडक निर्माणका लागि साह इन्जिनियरिङ प्रालि शम्भुनाथ सप्तरीलाई २५ करोड ८८ लाख रुपैयाँको ठेक्का दिएको हो ।
सडक निर्माणको सम्झौता २०७९ असारमा भएको थियो, र सम्झौता अनुसार गत असारसम्म निर्माण कार्य सक्नुपर्ने थियो । हाल, सडक डिभिजन कार्यालय लहानका सूचना अधिकारी अश्विनी यादवका अनुसार यो सडक अब २०८२ असारसम्ममा निर्माण गरिसक्नुपर्नेछ ।




