एजेन्सी । भारतीय क्रिकेट टोलीका पूर्वखेलाडी युवराज सिंहका पिता योगराज सिंहले पुन: दुई पूर्वकप्तान महेन्द्रसिंह धोनी र कपिल देवमाथि आक्रोश व्यक्त गर्दै पुराना घटनाहरूलाई उजागर गरेका छन् । योगराजले धोनी र कपिल देवमाथि आफ्ना छोराको करियरमा नकारात्मक प्रभाव पारेको आरोप लगाएका छन् र उनीहरूलाई कहिल्यै माफ नगर्ने बताएका छन् ।
धोनी प्रति आफ्नो असन्तोष व्यक्त गर्दै योगराजले भने, “म महेन्द्रसिंह धोनीलाई कहिल्यै माफ गर्ने छैन । एक खेलाडीको रूपमा म उनलाई सम्मान गर्छु, तर उनले मेरो छोरासँग गरेको व्यवहार कहिल्यै भुल्न सक्दिनँ । धोनीले आफ्नो प्रतिबिम्ब ऐनामा हेर्न आवश्यक छ ।”
धोनीले युवराज सिंहको करियरमा बाधा पुर्याएको आरोप लगाउँदै उनले भने, “धोनीले मेरो छोराको जिन्दगीमा ठूलो असर पारे । युवराजले क्यान्सरजस्तो गम्भीर रोगसँग संघर्ष गर्दै देशलाई विश्वकपको उपाधि दिलाए, जुन सानो उपलब्धि होइन । अझै पाँच वर्ष उनी क्रिकेट खेल्न सक्थे ।”
कपिल देव प्रति झन् कठोर शब्दहरू प्रयोग गर्दै योगराजले भने, “महान् कप्तानको उपमा पाएका कपिल देवलाई पनि म छाड्ने छैन । कुनै दिन दुनियाँले तिमीलाई थुक्नेछन् । युवराज सिंहले १३ वटा ट्रफि जितेका छन्, तिमीले त्यही एउटा विश्वकप मात्र जित्यौ ।” यसरी, योगराज सिंहले धोनी र कपिल देवमाथि पुन: आफ्नो असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गरेका छन् ।






