काठमाडौं । काठमाडौं उपत्यकामा हुने सवारी चोरी पैठारीका घटनाहरुलाई नियन्त्रण गर्न र चोरी भएका सवारी साधनहरुलाई खोज तलास गर्दै त्यस्ता चोरीमा संलग्न व्यक्तिहरु माथी विशेष निगरानी गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयको छुट्टै टोली खटिदै आएको छ ।
पछिल्लो समय थप सक्रियतापूर्वक खटिदै आएको चोरी नियन्त्रण टोलीले काठमाडौं महानगरपालिका ३१ स्थित मध्य बानेश्वरबाट बिहिबार मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ ।
शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको नयाँ मोडलको ३५० सिसिको बुलेट मोटरसाइकल चलाइरहेका अछाम जिल्ला चौरपाटी गाउँपालिका २ घर भई कोटेश्वर बस्ने वर्ष २८ का हिमाल खत्रीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
खत्रीसँग बरामद भएको बुलेट मोटरसाइकल नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा सोहि नम्बरको अर्को पनि मोटरसाइकल छ भन्ने पत्ता लागेको हो ।
मोटरसाइकलको खोज तलासमा निस्केको टोलीले मध्य बानेश्वर बस्दै आएका अछाम चौरपाटी गाउँपालिका २ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से ७ प ८५६२ नम्बरको ३५० सिसिको खैरो रंगको बुलेट मोटरसाइकलसहित नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
वास्तविक नम्बर बागमती प्रदेश ०२-०४७ प १९७५ रहेको उक्त मोटरसाइकल काठमाडौं स्थित रानीबारीबाट गत श्रावण २८ गते हराएको भनि रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोज तलासको लागि निवेदन दिएका थिए ।
सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकल समेत रहेको चोरीमा संलग्न कुँवरबाट खुलेपछि गाडा निलो रंगको १५० सिसिको एफ.जेड.एस. मोटरसाइकल समेत छाउनीबाट नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको क्रममा वास्तविक नम्बर बागमती प्रदेश ०२-०३८ प ९२५३ रहेको उक्त मोटरसाइकल काडाँघारी बस्ने ओखलढुंगाका उत्तम कुमार पराजुलीको रहेको खुल्न आएको हो । उक्त मोटरसाइकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो ।
यस्तै थप अनुसन्धान एवम् कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाइकलसहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरि भन्सार छलेको आशंकामा बुलेट मोटरसाइकलसहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रवक्ता खड्काले जानकारी दिए ।
यसैगरी थप अनुसन्धान गर्दै जाँदा करिव एक महिना अगाडी से ७ प ८५६२ नम्बर प्लेट भएको कालो रंगको यामाहा कम्पनीको १५५ सिसिको एमटी१५ बेबारिसे अवस्थामा फेला पारि प्रहरी बृत्त सिंहदरवारको नियन्त्रणमा रहेको तथ्य खुलेको छ ।
अनुसन्धानका क्रममा वास्तविक नम्बर बा.प्र. ०२-०२२ प ५०७८ भएको उक्त मोटरसाइकल बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निवेदन दिएको खुलेको थियो ।
यसैगरी थप सूचनाको आधारमा नियन्त्रणमा लिएको वास्तविक नम्बर से ७ प ८५६२ भएको गाडा निलो रंगको १५० सिसिको एफ. जेड. एस. भने भन्सार कार्यालय पठाइएकोमा उक्त मोटरसाइकल खत्रीको रहेको तथ्य समेत खुलेको थियो ।
उक्त मोटरसाइकलको वास्तविक ब्लुबुकलाई प्रयोग गरि अन्य मोटरसाइकल समेत प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । उक्त मोटरसाइकललाई नियन्त्रणमा राखि थप अनुसन्धान कार्य भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा लामो समय पार्किङ नगर्न प्रवक्ता खड्काले सम्पूर्णमा अनुरोध गरेका छन् ।
हराएका सवारी साधन खोज तलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएतापनि सवारी धनी स्वयम सजग हुनुपर्ने र सुरक्षित हिसाबले मात्र पार्किङ गर्नुपर्ने सुझाव दिएका छन् ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।




