रौतहट । रौतहटको गरुडा नगरपालिका ५ शिवनगरमा एक सुत्केरी महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयले बर्थिङ सेन्टरमा तोडफोड गरेका छन् । अरबिन्दकुमार साहकी पत्नी २२ वर्षीया रमिता देवीको मृत्यु भएपछि स्थानीयले ताडफोड गरेका हुन् ।
रमिता सुत्केरी हुन बिहिबार मध्यरातमा महम्मदपुर स्वास्थ्य चौकी पुगेकी थिइन् । बच्चा जन्मिएको केही समयपछि अत्यधिक रक्तस्राव भएपछि उनलाई वीरगन्ज रेफर गरियो । वीरगन्जस्थित इन्डो–नेपाल अस्पतालमा पुर्याउँदा चिकित्सकहरूले उनलाई मृत घोषित गरे ।
रमिताको मृत्युले स्थानीयमा ठूलो आक्रोश पैदा भएको थियो । पीडित परिवार र स्थानीयले बर्थिङ सेन्टरमा लापरवाहीको आरोप लगाउँदै तोडफोड गरे । घटनापछि चन्द्रनिगाहपुर–गौर मुख्य राजमार्गमा प्रदर्शनकारीहरूले दुई घण्टाभन्दा बढी चक्काजाम गरेका थिए ।
चक्काजामको क्रममा प्रदर्शनकारीहरूले नगर प्रमुख कन्थमनि प्रसाद कल्वारको घरमा समेत शव राख्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । यद्यपि, नवजात शिशु भने सुरक्षित रहेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाले घटना बारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ । मृतकका परिवारले उचित क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।




