धनुषा । धनुषाको सहिदनगर नगरपालिका ८ डुमरियामा रहेको सहिद सूर्यनाथ रान स्मृति अस्पताल सञ्चालनका लागि मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका विभिन्न निकायबाट औषधि र स्वास्थ्य उपकरण उपलब्ध गराइएको छ ।
करीब १४ वर्षदेखि सञ्चालनविहीन रहेको उक्त अस्पतालमा चाँडै सेवा सुरु गरिने प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रतिबद्धता जनाएका थिए । मुख्यमन्त्री सिंहले प्रतिवद्धता जनाएपछि दुई दिनमै अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र औषधि पठाइएको हो ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र प्रदेश स्वास्थ्यविज्ञान प्रतिष्ठानको सहकार्यमा डुमरिया अस्पतालका लागि आवश्यक औषधि र उपकरण पठाइएको जानकारी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. सञ्जय ठाकुरले दिएका छन् ।




