सुनसरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा लुटपाटको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरीको प्रमुख धार्मिकस्थलमा पर्यटकलाई त्रसित बनाएर लुटपाट गर्ने समूहका सात जनालाई आज नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए ।
प्रहरीका अनुसार झापा बाह्रदशी गाउँपालिका ३ का अमन भगत (२२) र निखिल भगत (२३) तालतलैया घुम्न आएका बेला चक्कु देखाएर दुई लाख रुपैयाँ लुटी फरार भएका थिए । पीडितहरूले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेर लुटपाटमा संलग्न रहेका अन्यलाई पनि पक्राउ गरेको हो ।
प्रहरीले रामधुनी नगरपालिका ३ का अनिस कोइराला (२२) र शुसन थापा (१९), इटहरी उपमहानगरपालिका ४ का विशाल तामाङ (२४), सुनिल बस्नेत (१८), निश्चल बस्नेत (१८), र वडा नम्बर ७ का साकार भण्डारी (१८) तथा वडा नम्बर १६ का रिचन खत्री (१८) लाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनीहरूबाट तीन लाख दुई सय ५५ रुपैयाँ नगद, चक्कु, ओकेटोके हेण्ड सेट र मोबाइलसमेत बरामद गरेको छ । पक्राउ परेका सातै जनालाई जिल्ला अदालत सुनसरीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको प्रहरीले जनाएको छ ।




