सिरहा । पछिल्लो समय सिरहा जिल्ला प्रतिवन्धित लागुऔषधको अखडा नै बनेको पाईएको छ । खुल्ला सिमानाका भएका कारण जिल्लाको विभिन्न नाकाहरुबाट तस्करहरुले भारतीय बजारसम्म प्रतिबन्धित लागुपदार्थ गाँजा पुर्याउने र भारतीय बजारबाट ब्राउन सुगर, कोरेक्स, टयावलेटहरु लगायतको लागुऔषधहरु भित्राउने गरेको पाइएको हो ।
जिल्लाको उत्तरीक्षेत्र बन्दिपुर, कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढी, तरेगना गोविन्दपुर, लाहन लगायतका क्षेत्रहरुबाट तस्करहरुले ठूलो मात्रामा गाँजा खरिद गरी भरीया प्रयोग गरी भारतीय बजार पुर्याउने गरेको स्थानियहरु बताउँछन् । सिरहा प्रहरीले आज मात्रै कर्जन्हा नगरपालिका ११ बाट घरको अगाडी झाडीबाट दुई सय ९० केजी गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
गत २१ गते विशेष सूचनाको आधारमा प्रहरीले कर्जन्हा नगरपालिका ११ स्कूलटोलमा रहेको चानो देवी मुखियाको घरबाटै २ सय १७ किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । तीन दिनमा प्रहरीले पाँच क्विन्टल बढी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । एकै गाँउबाट यति ठूलो परिमाणमा गाँजा बरामद हुनुले पनि सिरहा जिल्ला लागुऔषधको हव नै रहेको पुष्टि गर्छ ।
गत २१ गते शुक्रबार गोप्य सुचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले उक्त परिमाणको गाँजासँगै कारोवारमा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पंज कुमार बाखुले जानकारी दिए ।
प्रहरीले शुक्रबार गाँजासँगै ओसार पोसारमा संलग्न रहेको आशंकामा भारतको विहार राज्य, जिल्ला मधुबनि बलरा थाना १२ नम्बर वडाका २० वर्षिय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका ९ का ६२ वर्षिय खडक बहादुर तामाङ र स्थानीय ४० वर्षिया चानो देबी मुखिया र आज गाँजासहित अनुसन्धानका लागि एक जना गरी चार जनालाई नियन्त्रणमा लिएको मिर्चैयाका प्रमुख डीएसपी बाखुले बताए ।
उनले आज पक्राउ गरेको व्यक्ती अहिले अनुसन्धान भइरहेकोले नाम सार्वजानिक गर्न नमिल्ने बताए । उनले अहिले आशंकाको आधारमा पक्राउ गरिएपनि मुख्य कारोवारीहरुको पहिचान भइरहेकोले उनीहरुलाई पनि चाँडै पक्राउ गर्ने बताए ।
प्रहरीले शुक्रबार पक्राउ परेकाहरुसँगको अनुसन्धानका आधारमा थप गाँजा र मानिस नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । सिरहामा अहिले भारतीय र नेपाली समेत शक्रिय भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रहरीले बरामद गरेका गाँउमा तस्करहरुले करिव १० क्विन्टल भन्दाबढी प्रतिबन्धित लागुऔषध गाँजा भित्र्याईएको छ ।
यो गाँउमा मात्र नभई लोकमार्गको उत्तरी क्षेत्रमा पर्ने गाँउहरुमा अहिले भारतीय तस्करहरुले सयौँ क्विन्टल गाँजा खरिद गरी राखेको स्रोतको दावी छ । खरिद गरिएको गाँजा भरीया, स्कुल बस र एम्बुलेन्समा प्रहरीकै सेटिङमा भारतिय बजारसम्म पुग्ने गरेको स्रोतको भनाई छ । सिरहामा करिव १५ वर्ष उमेरदेखि ३५ वर्ष उमेर समूहका हजारौं युवाहरु लागुऔषधको कुलतमा फसेको जानकारहरु बताउँछन् ।




