जनकपुरधाम । मधेस प्रदेशसभाले आफ्नो दोस्रो कार्यकालमा पर्याप्त प्रगति गर्न सकेको छैन । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएपछि औसतमा प्रति महिना मात्र ४ वटा बैठक बसेका छन्, तर सभामुख, उपसभामुख र सांसदहरूको तलब तथा सेवासुविधामा करोडौँ रुपैयाँ खर्च भइरहेको छ ।
मधेस प्रदेशसभा सचिवालयका अनुसार, दोस्रो कार्यकालमा हालसम्म तीन अधिवेशन सञ्चालन हुँदा ७९ वटा बैठक मात्रै बस्न सकेका छन् । सचिवालयका निमित्त सचिव विपिन ठाकुरका अनुसार, २०७९ साल पुस १८ गते पहिलो बैठक बसेपछि अहिलेसम्म ७९ बैठकमा जम्मा ११८ घण्टा ६ मिनेट सदन सञ्चालन भएको हो ।
तर, यस अवधिमा उनीहरूको तलब र सेवासुविधामा २९ करोडभन्दा बढी रकम खर्च भएको छ । आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म, मधेस प्रदेशसभा सञ्चालनमा कुल २९ करोड ८५ लाख ९६ हजार रुपैयाँ खर्च भएको छ । यसमा सभामुख र उपसभामुखको सेवासुविधामा १ करोड ९५ लाख ९४ हजार रुपैयाँ र सांसदहरूको तलब तथा सेवासुविधामा २७ करोड ९० लाख २ हजार रुपैयाँ खर्च भएको देखिन्छ ।
यस आर्थिक भारका बावजूद, प्रदेशसभाले कानुन निर्माणमा खासै उपलब्धि हासिल गर्न सकेको छैन । अहिलेसम्म ७ वटा विधेयक पास भए पनि ४ वटा विधेयक बजेटसँग सम्बन्धित थिए । बाँकी ३ विधेयकमध्ये एउटा मधेस प्रदेशको नामलाई आधिकारिक रूपमा प्रयोग गर्न ल्याइएको थियो । यसरी, दोस्रो कार्यकालमा जम्मा दुई वटा कानुन मात्र निर्माण भएका छन् ।
प्रदेश बालिका संरक्षण सम्बन्धी विधेयक २०७९ र स्थानीय सेवाका शर्तहरूको व्यवस्थापन गर्ने विधेयक मात्र प्रदेशसभाले पारित गरेर प्रदेश प्रमुखबाट प्रमाणित भएको कानुनका रूपमा रहेको छ ।




