काठमाडौं । बागलुङ जिल्लाको गलकोट नगरपालिका २ नरेठाँटीको भुंखानीमा आज बिहान सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको छ । उक्त दुर्घटनामा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढागरसहित ३ जनाको मृत्यु भएको छ, जिल्ला प्रहरी कार्यालय बागलुङले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार, २९ वर्षीय प्रेम बहादुर पुन घाइते भएका छन् र उनका धौलागिरी अस्पतालमा उपचार भइरहेको छ । ‘उपाध्यक्ष भूपेन्द्रा बुढाको मृत्यु भएको पुष्टि भएको छ, अन्य मृतकहरूको पहिचान भइसकेको छैन,’ नायव उपरीक्षक विजय यादवले भने ।
रुकुम पूर्वका संघीय सांसद पूर्णबहादुर घर्तीका अनुसार, उपाध्यक्ष बुढा काठमाडौंमा आमासँग भेट गर्न आएका थिइन् । उनले परिवारसँगको भेटपछि गाउँ फर्किँदै गर्दा दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ । ‘उहाँसँग अन्तिम भेटमा, उहाँले गाउँ फर्किँदै गरेको भन्नुभएको थियो । यो खबर अत्यन्तै दुःखद छ,’ सांसद घर्तीले बताए ।
उपाध्यक्ष बुढाले दुई दिन अगाडि आफ्नो बिरामी आमासँगको फोटो फेसबुकमा पोस्ट गरेकी थिइन् । फोटोमा उनले ‘आमा शब्द नै कति महान छ’ लेखेर आमासँगको स्वास्थ्य लाभको कामना गरेकी थिइन् । दुर्घटनाको समय अझै खुल्न नसकेको छ । आज बिहान दुदीलाभाटीका प्रेम बहादुर कार्कीले घाँस काट्न जाने क्रममा दुर्घटनाग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।






