वीरगन्ज । वीरगन्जमा ट्याङ्करको ठक्करले एक युवकको मृत्यु भएपछि तनावग्रस्त भएको छ । वीरगन्जको अलौंमा स्थानीयको प्रदर्शनले स्थिति तनावग्रस्त बनाएको छ । ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएका २२ वर्षीय टिनुकुमार साह तुराहा हिजो राति मृत्यु भएपछि आज बिहानदेखि स्थानीयहरूले प्रदर्शन सुरु गरेका छन् ।
ट्याङ्कर चालकको लापरबाहीका कारण मृत्यु भएको भन्दै स्थानीयले बिहान ६ बजेदेखि एकीकृत भन्सार जाँच चौकी (आइसीपी) एरियामा विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले ट्याङ्कर चालकको कारबाहीको माग गर्दै टायर बालेर प्रदर्शन गरेका छन् ।
प्रहरीका अनुसार, मृतकको शव वीरगन्जको नारायणी अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ । आक्रोशित स्थानीयहरूको कारण आइसीपी क्षेत्र तनावग्रस्त बनेको छ । मृतक पक्षका परिवार र सरोकारवालाबीच अहिले जिल्ला प्रशासन कार्यालय पर्सामा छलफल भइरहेको छ ।
‘त्यस छलफलको परिणाम अनुसार कारवाही अघि बढाइनेछ,’ प्रहरी प्रवक्ता दीपक भारतीले भने । हिजो राति ना ६ ख ७५०३ नम्बरको ट्याङ्करले ना २९ प ६९५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो, जसमा चालक तुराहा गम्भीर घाइते भएका थिए । ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




