सिमरा । विश्वप्रसिद्ध गढीमाई मेलामा पशुबली चढाउने परम्परालाई रोक्न पशु कल्याण संघ नेपाल र स्नेहाज केयरले शुक्रबार कलैयामा शान्तिपूर्ण र्याली आयोजना गरेका छन् । गढीमाई मेलामा हुने पशुबलिको विरोध गर्दै संघले सचेतनाका लागि यो र्यालीको आयोजना गरेको हो ।
बारा महिला विकास मञ्चको सहकार्यमा आयोजित यस र्यालीमा झण्डै चार सय महिलाहरू सहभागी थिए । ‘बलि पशुको होइन, अन्धविश्वासको दिऔं’ भन्ने नारासहित जानकी मन्दिरबाट सुरु भएको र्यालीले कलैया बजारको परिक्रमा गर्दै मन्दिरमै समापन भयो ।
संघकी अध्यक्ष स्नेहा श्रेष्ठले गढीमाई मेला तथा देशभरमा भइरहेका पशुबलीको अन्त्यका लागि जनचेतना जगाउन शान्तिपूर्ण र्यालीको आयोजना गरिएको बताइन् । श्रेष्ठले स्थानीय महिलाहरूको उत्साहजनक सहभागितामा खुशी व्यक्त गर्दै मेलालाई हिंसारहित बनाउन आग्रह गरिन् ।
श्रेष्ठले मानिसहरूलाई पशुबलि दिने परम्परा भन्दा फलफूल, लड्डु, सिन्दुर चढाएर मनोकामना पूरा गर्न प्रेरित गराउन आफूहरू लागिपरेको बताइन् । ‘गढीमाई मेला हिंसारहित हुनुपर्छ र पशुबली समाप्त हुनुपर्छ’ भन्ने अभियानमा आफूहरू सक्रिय रहेको पनि उनले थपिन् । नागरिकहरू बिस्तारै सचेत हुँदै गएको र सम्बन्धित निकायहरूबाट समेत सहयोग मिलिरहेको अनुभव भएको उनले जनाइन् ।
सर्वोच्च अदालतले २०७३ सालमा सरकारलाई पशुबलीलाई सहयोग नगर्न र निरुत्साहित गर्न आदेश दिएको थियो । संघले अदालतको उक्त परमादेश कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई निरन्तर आग्रह गरिरहेको छ ।




